मनमोहन कार्डियोका फार्मेसी अधिकृत मृत्यु प्रकरण: चार जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्धा

320
Shares

काठमाडौँ, १९ साउन । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी अधिकृत अमृत पोखरेल मृत्यु प्रकरणमा चार जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ।

प्रहरी वृत्त महाराजगञ्जले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा चार जनाविरुद्ध मुद्दा दायर गरेको हो।

त्यसरी मुद्धा दर्ता हुनेहरुमा मनमोहन कार्डियोका प्रशासन प्रमुख भोजकुमार बस्नेत, फार्मेसी इञ्चार्ज जुना स्थापित, फार्सेसी सहायक विष्णु पौडेल र कृष्ण पन्त रहेका छन् । अहिले मुद्दा दायर भएका चार जनालाई प्रहरी वृत्त महाराजगञ्जले गत २९ असारमै नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो।

उक्त अस्पतालमै फार्मेसी अधिकृत पोखरेल मृत भेटिएका थिए। अर्घाखाँचीको शीतगंगा नगरपालिका घर भएका पोखरेल कपडाको पास लगाई झुण्डिएको अवस्थामा मृत भेटिएका थिए।

अनुसन्धानमा खटिएको प्रहरी टोलीले सुसाइड नोट समेत फेला पारेको थियो। सुसाइड नोटमा समेत उनले आफूमाथि छानबिन भएका विषयहरु उल्लेख गरेका थिए। उनले आफूलाई फसाएर केही व्यक्तिहरु उम्कन खोजेको पनि सुसाइड नोटमा लेखेका थिए। सुसाइड नोटमा लेखेका थिए, ‘मलाई फसाएर उम्कन खोज्ने तिमीहरुको जय होस्।’

यसअघि उनको मृत्युबारे आन्तरिक रुपमा छानविन गर्न त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)ले मनमोहनका पूर्व कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । सो समितिलाई सात दिन भित्र प्रतिवेदन बुझाउन भनिएको थियो । सो समितिले तोकिएकै अवधीमा प्रतिवेदन बुझाएको आइओएमकी डीन प्राडा दिव्यासिंह शाहले बताईन् ।

उनले आएको प्रतिवेदन आफूले त्रिवि केन्द्रीय कार्यालयमा पठाइदिएको समेत जानकारी दिईन् ।

‘प्रहरीले छानविन गरिएको विषयमा हामीले गरेको छानविनको रिपोर्ट सार्वजनिक गर्नु मनासिव हुँदैन् । त्यसैले यसलाई गोप्य नै राखियो र केन्द्रीय कार्यालय तर्फ पठाइयो,’ डीन प्राडा शाहले अगाडी थपिन्, ‘तर हाम्रो आन्तरिक प्रतिवेदनलाई प्रहरीले आफ्नो छानविनका लागि सहयोगी टुलको रुपमा प्रयोग गर्न सक्छ ।’

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *