समायोजन तथा समायोजन मिलान भई कार्यरत रहेका कर्मचारीहरुलाई फिर्ता गर्न पाईदैन : सामान्य प्रशासन मन्त्रालय

काठमाडौँ, ३ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन तथा समायोजन मिलान भई कार्यरत रहेका कर्मचारीहरुलाई साविक बमोजिम नै हाजिर गराई व्यवस्थापन गर्न स्थानीय तहलाई निर्देशन दिएको छ ।
कतिपय स्थानीय तहले समायोजन तथा समायोजन मिलन भई काम गर्दै आएका कर्मचारीहरुलाई दरबन्दी भन्दा बढी भएको भन्दै फिर्ता पठाउन थालेपछि सामान्यले यस्तो निर्देशन दिएको हो ।
सामान्यले सबै स्थानीय तहलाई पत्र लेख्दै कतिपय स्थानीय तहले समायोजन तथा समायोजन मिलान भई कार्यरत रहेका कर्मचारीहरुलाई विभिन्न बाहनामा फिर्ता पठाएको बुझिन आएकोले यसरी फिर्ता गर्नु कानूनी व्यवस्थाको प्रतिकुल हुनु हो भन्दै सम्झाएको छ ।
कतिपय स्थानीय तहले बढी दरबन्दी भएको भन्दै समायोजन तथा समायोजन मिलान भई गएका कर्मचारीहरुलाई फिर्ता पठाउने र आफूखुशी नयाँ कर्मचारी भर्ना गर्ने गरेका छन् । खासगरी स्वास्थ्य सेवाका कर्मचारीहरु यो समस्याबाट बढी मर्कामा परेका छन् ।
सरकारले बढी दरबन्दी भन्दा बढी काम काजमा बसेका कर्मचारीहरुलाई १ साउन देखि तलव खुवाउन नसक्ने भन्दै गत २५ असारमा पत्र पठाएपछि समायोजनमा परेका कर्मचारीमा अन्योलता छाएको थियो ।

सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



