स्याङ्जाको चापाकोटमा दुई दिने निशुल्क आँखा शिविर, ५२१ जना लाभान्वित

काठमाडौँ, ९ असार । बीएम फाउन्डेशन र केडीसी अस्पतालको आयोजनामा स्याङ्जाको चापाकोटमा दुई दिने निशुल्क आँखा शिविर गरिएको छ । गत मंगलबार देखि विहीबारसम्म सञ्चालन गरिएको शिविरमा ५२१ जनाले आँखा जाँच गराएका थिए ।
केडीसीका सञ्चालक समेत रहेका बीएम फाउण्डेशनका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले निशुल्क आँखा शिविर चापाकोट नगरपालिकाको तीन स्थानमा गरिएको बताए । उनका अनुसार चापाकोट १ को भानु माविमा गरिएको शिविरमा १७१ जना, चापाकोट ९ को बैडी माविमा १५० जना र बुद्ध सामुदायिक स्कुलमा २०० जना गरी कुल ५२१ जनाको परीक्षण गरिएको हो ।
शिविरमा मधुमेह रोगले आँखामा पार्ने असर डायविटिक रेटिनोप्याथीबारेमा समेत प्रशिक्षण गरिएको थियो । सो प्रशिक्षणमा २३ देखि ५० वर्ष उमेर समूहका ३७ जना सहभागी थिए ।
शिविरका लागि ओयूआई जापानका डा रोहन, केसीडीको आँखा विभागबाट नेत्र चिकित्सक डा रोहित यादव, डा अविनाशकुमार झा, नेत्र सहायक दिपीका गौतम लगायतको टोली खटिएको थियो ।
शिविरमा दृष्टि सम्वन्धी समस्या भएको प्रसबायोपिया २८ जनामा, आँखा सुख्खा हुने समस्या २४ जनामा, अकुलर एलर्जी २० जनामा भेटिएको थियो । यस्तै आँखासम्वन्धी रोगहरु आईएमएससी, भीकेसी, सीएनएलडी ब्लक लगायतका समस्या १७ जनामा पाइएको थियो ।
शिविरका लागि ओयुआई जापान र ताइवान प्रिभेन्ट व्लाइन्डनेश फाउन्डेशनको सहयोग थियो ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

