विश्व स्वास्थ्य संगठनको महासभामा आँखा स्वास्थ्यको पैरवी गर्दै नेपाली चेली

जुनू श्रेष्ठ

काठमाडौँ, २८ जेठ । जुनू श्रेष्ठ नेपालको आँखा क्षेत्रको उदाउँदो नाम हो। उनी आँखा स्वास्थ्यको पैरवी गर्ने विश्वव्यापी शीर्ष संस्था अन्धोपन निवारणका लागि अन्तराष्ट्रिय एजेन्सी (IAPB)  को केन्द्रीय कार्यालयमा काम गर्ने पहिलो नेपाली हुन्।

उनले आईएपीबीको प्रतिनिधित्त्व गर्दै यस वर्षको ७६औँ विश्व स्वास्थ्य संगठनको महासभामा दोस्रो पटक भाग लिएकी हुन्।

विश्व स्वास्थ्य संगठनको महासभा विश्वव्यापी स्वास्थ्य सम्बन्धी नीति निर्धारण र तर्जुमा गर्ने उच्चतम निकाय हो। वार्षिक रुपमा हुने यस महासभा यस वर्ष मईको २१ देखि ३० तारिक सम्म स्विट्जरल्यान्डको जेनेभामा सम्पन्न भएको छ।

महासभामा विश्व स्वास्थ्य संगठनका १९४ सदस्य राष्ट्रहरूसंगै नागरिक समाज, द्विपक्षीय र बहुपक्षीय संगठनहरूको पनि सहभागिता हुन्छ, जसमा नागरिक समाजको भूमिका र आवाजलाई पनि महत्वपूर्ण स्थान दिइन्छ।

जुनूले आईएपीबीको अगुवाइमा तयार गरिएको संगठित बयानलाई महासभामा प्रस्तुत गरिन्। बयानमा उनले सदस्य राष्ट्रहरुलाई आँखा स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच पुर्‍याउनको लागि  र विश्वमा अनेकौं कारणले बढ्दै गएको अन्धोपन र दृष्टि ह्रासलाई न्युनिकरण गर्न देशको मुलधार स्वास्थ्य सेवा प्रणाली अन्तर्गत आँखा स्वास्थ्य सेवालाई समाहित गर्न आग्रह गरिन्।

आईएपीबीका नीति तथा पैरवी प्रबन्धक, जुनू श्रेष्ठ २०२० को अन्तराष्ट्रिय आइ हेल्थ हिरो उपाधिबाट सम्मानित भएकी हुन्।

आँखा स्वास्थ्यका मुद्दाहरू महासभामा बिरलै सुनिन्छ। आम स्वास्थयका मुद्दाहरू जस्तै प्राथमिक स्वास्थ्य सेवा, नसर्ने रोगको रोकथाम र नियन्त्रण, महामारी, सर्वव्यापी स्वास्थ्य सुरक्षा आदिसँग आँखा स्वास्थ्य अन्तरसम्बन्धित भएतापनि मुख्य बहसमा यसको चर्चा खासै हुने गर्दैन। सोही मुद्दालाई अघि सार्दै जुनूले आईएपीबीको तर्फबाट महासभामा उक्त बयान गुन्जाएकी हुन्।

यसपल्ट बयानमा आँखाका नसर्ने रोगहरु डायाबेटिक रेटिनोपाथी अर्थात मधुमेहले आँखामा पार्ने असर, जलबिन्दु, उमेर बढ्दै जाँदा आँखामा हुने म्याकुलर डिजेनरेसन, उच्च मायोपिया (अदुर दृष्टिदोष) को जटिलताहरू र दुर्लभ आँखाका रोगहरूले विश्वव्यापी संख्यामा बढ्दो प्रभाव पार्दै गएको तथ्यलाई उजागर गरिन्।

यस अघि जुनूले विश्व स्वास्थ्य संगठनको १५२औँ कार्यकारी बोर्ड बैठकमा आँखा स्वास्थ्य सम्बन्धी तीन वटा बयान प्रस्तुत गरेकी थिइन् भने अघिल्लो वर्षको ७५औँ विश्व स्वास्थ्य महासभामा पनि दुई वटा बयान प्रस्तुत गरेकी थिइन्।

यसका अतिरिक्त उनले विश्व स्वास्थ्य महासभामा सदस्य राष्ट्रका प्रतिनिधिहरुसँग भेटघाट गरी देशहरूमा आँखा स्वास्थ्य सेवालाई सशक्त बनाउने र महासभाका पूर्व संकल्पहरूलाई कार्यान्वयन गर्ने बारेमा चर्चा गर्ने फलदायी अवसरको पनि सदुपयोग गर्दै आएकी छिन्।

जुनू यसरी निरन्तर विश्व समुदायमा आँखा स्वास्थ्यको नीति पैरवी गर्दै आएकी नेपाली चेली हुन्।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *