फेरी घट्यो स्वास्थ्यको बजेट सिलिङ, अब ४१ अर्व ४५ करोड

860
Shares

काठमाडौँ, १३ चैत । राष्ट्रिय योजना आयोगले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८०/८१ का लागि तोकेको बजेट सिलिङमा पुन: कटौँती गरेको छ ।

आयोगले आगामी आर्थिक वर्षका लागि बजेट बनाउन भन्दै गत महिना स्वास्थ्यका लागि ४४ अर्व ४५ करोड ७१ लाख रुपैयाँको बजेट सिलिङ पठाएको थियो । यो चालु बजेट भन्दा ३५ प्रतिशतले कम थियो । आयोगले आइतबार मात्रै गत महिना पठाएको बजेट सिलिङ साइजलाई थप घटाउँदै नयाँ सिलिङ पठाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नीति योजना शाखाका अनुसार आइतबार आएको नयाँ बजेट सिलिङमा ४१ अर्व ४५ करोड ७१ लाख रुपैयाँ तोकिएको छ । यो बजेट सिलिङ स्वास्थ्यले चालु आर्थिक वर्षमा पाएको बजेट भन्दा झण्डै ४० प्रतिशतले कम हो ।

चालु आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयले ६९ अर्ब ३८ करोड २ लाख बजेट पाएको छ। यो बजेटमा चालु तर्फ ५४ अर्ब ८४ करोड २८ लाख रुपैयाँ र पुँजिगत तर्फ १४ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ थियो।

आगामी आर्थिक वर्षका लागि तोकिएको नयाँ सिलिङ ४१ अर्ब ४५ करोड ७१ लाखमध्ये चालु तर्फ ३४ अर्ब ७७ करोड ७५ लाख रुपैयाँ र पुँजिगत तर्फ ६ अर्ब ६७ करोड ९६ लाख रुपैयाँ रहेको छ।

‘पहिले स्वास्थ्य बीमा ८ अर्व ५० करोड थियो भने अहिले ७ अर्व ५० करोड नै बनाईदियो । स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमका लागि ९ अर्व ३३ करोड थियो । अहिले ८ अर्व ३३ करोड बनाएर पठाएको छ,’ योजना शाखाका उपसचिव लिलाराज पौडेलले भने ।

स्वास्थ्यका अधिकारीहरुले देशको अर्थतन्त्रमा परेको नकारात्मक असरको परिणाम बजेट सिलिङमा देखिएको बताएका छन् ।

विश्व स्वास्थ्य संगठनले स्वास्थ्यमा कम्तीमा १० प्रतिशत बजेट छुट्याउन सुझाव दिँदै आइरहेको छ। तर नेपालमा स्वास्थ्य मन्त्रालयले अहिलेसम्म १० प्रतिशत बजेट पाउन सकेको छैन।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *