केन्द्रीय कारागार अस्पतालमा फार्मेसी, मानसिक कक्ष र एम्बुलेन्स सेवा सञ्चालन

काठमाडौँ, ९ चैत । केन्द्रीय कारागार अस्पतालले अस्पताल फार्मेसी, मानसिक कक्ष र इमरजेन्सी तथा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । बुधबार एक समारोहका बीच गृह सचिव विनोद प्रकाश सिंहले ती सेवाहरुको उद्घाटन गरे ।

सो क्रममा उनले अस्पतालमा रहेका बहिरङ्ग तथा अन्तरङ्ग विभाग, एक्सरे विभाग, प्रयोगशाला कक्ष, मानसिक कक्ष, लगायतका सेवाको अवलोकन तथा निरीक्षण गरि उपलब्ध सम्पूर्ण सेवाहरुको बारेमा जानकारी लिएका थिए ।

सो अवसरमा बोल्दै सचिव सिंहले वर्तमान आर्थिक अवस्थाको बारेमा जानकार भएकोले आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधारको कार्यक्रम समावेश हुन सक्ने अवस्था नरहेको बताउदै साधन र श्रोतको अभावका बीच इच्छाशक्तिको भरमा केन्द्रीय कारागार अस्पतालले गुणस्तरीय उपचारसेवा व्यवस्थापनमा देखाएको उदाहरणप्रति खुशी व्यक्त गरे । उनले अस्पतालको सुदृढीकरणलाई गृह मन्त्रालयले उच्च प्राथमिकतामा राख्ने जानकारी पनि गराए ।

त्यसअघि बोल्दै अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बुढाथोकीले अस्पतालको वर्तमान अवस्था, निकट भविष्यमा सञ्चालन हुन लागिरहेको स्वास्थ्य बीमा व्यवस्थापन, अस्पतालको बजेट, कर्मचारीहरुका लागि प्रोत्साहन, तीस सैय्यामा सञ्चालनमा रहेको अस्पताललाई पचास सैय्याको अस्पतालको रुपमा विस्तार गर्ने योजना लगायतका विषयवस्तुमा ध्यानाकर्षण गराएका थिए ।

शाखा अधिकृत रमा घिमिरेले सञ्चालन गरेको सो कार्यक्रममा गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेत, कारागार कार्यालय काठमाडौंका कारागार प्रशासक ललित बस्नेत, नेपाल प्रहरी अनाश्रित गुल्म, जगन्नाथदेवलका प्रहरी अधिकृत, केन्द्रीय कारागार अस्पतालका विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृतहरु, स्वास्थ्यकर्मीहरु, प्रशासनमा कार्यरत कर्मचारीहरु लगायत सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर