‘६० प्रतिशत बढी बहिरोपन रोकथाम गर्न सकिन्छ’

68
Shares

काठमाडौँ, १९ फागुन । करीव ६० प्रतिशत बहिरोपनको समस्या रोकथाम गर्न सकिने विज्ञ चिकित्सकहरुले बताएका छन् । विश्व श्रवण दिवसको अवसरमा सोसाइटी अफ ओटोल्यारिङ्गोलोजिस्टले काठमाडौंमा गरेको कार्यक्रममा चिकित्सकहरुले करीब ६० प्रतिशत बहिरोपनको समस्या रोकथाम गर्न सकिने बताएका हुन्।

सोसाइटीका अध्यक्ष डा दीपेन्द्र श्रेष्ठले कान स्वास्थ्यलाई सरकारले आफ्नो प्राथमिकतामा नराखेको बताए । आँखा स्वास्थ्य सम्वन्धी नीति सन् १९७० मै बनेको थियो । तर बहिरोपना सम्वन्धी नीति बनाउने भर्खर तयारी हुँदैछ ।

‘कान दुख्दैन, ठूलो असर गर्दैन भन्ने ठानेर यसलाई प्राथमिकतामा नपारिएको हो कि ?’ उनले भने । श्रेष्ठले नीतिगत तहमा बसेकाहरुले बहिरोपना स्वास्थ्यको गम्भीर समस्या हो भनेर बुझ्न नचाहनु नै मुख्य समस्या भएको बताए । उनले बहिरोपनको समस्या न्यूनीकरणका लागि सरकारले नै पहल गर्नुपर्ने उनले बताए।

कार्यक्रममा बोल्दै सोसाइटीका महासचिव एवं त्रिवि शिक्षण अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा. योगेश न्यौपानेले समयमै उपचार गरे बहिरोपनको समस्याबाट बच्न सकिने बताए ।

‘विश्वमा अहिले हरेक पाँच मध्ये एक जनामा बहिरोपना सम्वन्धी कुनै न कुनै रोगबाट प्रभावित भएका छन् । सन् २०५० सम्म चार जनामध्ये एक जनामा यो समस्या रहन्छ भन्ने हाम्रो अनुमान छ,’ उनले भने ।

बहिरोपनको समस्या बढ्दै गएपनि नेपालमा दक्ष जनशक्ति पर्याप्त मात्रामा नरहेको सोसाइटीले जनाएको छ। नेपालमा हाल नाक, कान, घाँटी रोग विशेषज्ञ २१५ र अडियोलोजिस्ट र स्पीच ल्याङवेज प्याथलोजिस्ट ९० जना मात्र रहेको डा न्यौपानले जानकारी दिए।

बहिरोपनको समस्या न्यूनीकरण गर्न सरकारले दक्ष जनशक्ति बढाउनुपर्ने, तालिम दिनुपर्ने र सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा उनको जोड छ।

कक्लेन्ट इम्प्लान्ट नेपालका डा रविन्द्र प्रधानाङ्गले कक्लेन्ट सेवा सर्वसुलभ बनाउनुपर्ने बताए। यो सेवा विस्तारका लागि सरकारलाई सहयोग गर्न आफुहरु तयार भएको उनले बताए।

कार्यक्रम अघि सोसाइटीले विश्व श्रवण दिवसको अवसरमा बहिरोपन सम्वन्धी जनचेतना फैलाउन भन्दै प्रभातफेरीको आयोजना गरेको थियो । प्रदर्शनीमार्ग तथा भृकुटीमण्डप क्षेत्रमा आयोजना गरिएको प्रभातफेरीमा चिकित्सकहरुले विभिन्न सन्देश लेखिएका प्लेकार्ड तथा व्यानर प्रदर्शन गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *