आयुर्वेदलाई प्राथमिकता साथ अघि बढाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, १९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयुर्वेदलाई प्राथमिकताका साथ अघि बढाउन नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
आजबाट काठमाडौँमा शुरु भएको सातौँ अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आयुर्वेदलाई प्राथमिकताका साथ अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
उनले नेपाल आयुर्वेदका लागि सही र उचित गन्तव्यस्थल रहेको भन्दै पछिल्लो समय जलवायु परिवर्तनका कारण परिरहेका समस्यालाई न्यूनीकरण गर्न आवश्यक रहेको बताए ।
आयुर्वेदका लागि नेपालमा रहेका वनस्पतिहरु जोगाइराख्नुपर्ने आवश्यक्ता देखिएकाले सरकारले पनि यसलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको उनको भनाइ छ ।
उनले नेपालमा आयुर्वेद क्षेत्रको लागि प्राकृतिक भूमि भएको उल्लेख गर्दै नेपालमा यार्सागुम्बा, अमला, रुद्राक्ष, तुलसी लगायतका अति महत्वपूर्ण वनस्पतिहरु पाईने बताए ।
महासभामा बोल्दै उनले तीन सय वर्ष पुरानो इतिहास बोकेको सिंहदरबारस्थित वैद्यखानालाई राष्ट्रिय गौरवको योजनाका रुपमा अगाडि बढाउने बताए । उनले आयुर्वेदलाई संरक्षण र संवद्र्धन गर्न वैद्यखानाबाट आफ्ना कामहरु गरिरहेको बताउदै नेपालमा रहेका वनस्पतीहरूको अध्ययन र अनुसन्धान अझै हुन जरुरी रहेको बताए ।
‘सबैका लागि समग्र स्वास्थ्योपचार’ भन्ने नाराका साथ सुरु भएको महासभा आगामी आइतबार सम्म चल्ने छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ