सिएमसीमा नवजात शिशुको मुटुको जटिल शल्यक्रिया

452
Shares

काठमाडौँ, १६ फागुन । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा नवजात शिशुको मुटुको जटिल शल्यक्रिया सफल भएको छ ।

भरतपुर महानगरपालिका–१ ठिमुराका २४ वर्षीय मिलन प्रजा र २० वर्षीया सविता प्रजाकी ३५ दिनकी शिशु महिमा प्रजाको मुटुको डि–टिजिए (डेस्ट्रो ट्रान्सपोजिसन अफ ग्रेट आर्टरिज) को शल्यक्रिया सफल भएको हो ।

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा कार्डियोथोरासिस तथा भाष्कुलर सर्जन प्रा डा अनिल आचार्य नेतृत्वको टोलीले शिशुको शल्यक्रिया गरेको हो।

डिटिजिए शल्यक्रिया नेपालमा सफल भएको यो तेस्रो घटना भएको प्रा डा आचार्यले बताए। उनले भने, “मलाई थाहा भएसम्म नेपालमा यस्तो प्रकृतिको शल्यक्रिया सफल भएको यो तेस्रो हो। यस्ता प्रकृतिको शल्यक्रिया गर्दा मृत्युदर ९० प्रतिशतसम्म हुन्छ ।”

उनका अनुसार मानिसको मुटुको तल्लो दाहिने कोठाबाट फोक्सोमा रगत जाने रक्तनली हुने र देब्रेतिरको तल्लो कोठाबाट शरीरमा रगत जाने रक्तनली हुन्छन्। दाहिनेतर्फ फोक्सोमा गएको रगत शुद्ध भएपछि देब्रे कोठामा आएर देब्रे कोठाले शुद्ध रगत शरीरमा पठाउनुपर्नेमा महिलाको रक्तनली ठीक उल्टो भएको उनले बताए ।

यस्तो प्रकृतिको शल्यक्रियामा कोरोनरी आर्टरिजका नलीहरूको समेत ठाउँ बदल्नुपर्ने जनाउँदै प्रा डा आचार्यले भने, “त्यो पनि हामीले ठाउँ बदल्यौँ।” महिमामा अब कुनै समस्या नरहेको उनको भनाइ छ ।

नवजात शिशुलाई बेहोस बनाएर शल्यक्रिया गर्न निकै जटिल हुने भन्दै उनले त्यसमाथि मुटुजस्तो संवेदनशील अङ्गको शल्यक्रिया झनै जटिल हुने बताए। गत माघ २३ अस्पताल भर्ना भएकी महिमाको २५ गते शल्यक्रिया गरिएको हो ।

शल्यक्रियामा प्रा डा आचार्यसहित डा अल्का सिंह, एनेस्थेसियोलोजिष्ट डा प्रवेश ज्ञवाली, परफूजनिस्ट (शल्यक्रिया गर्दा मुटु र फोक्सो चलाउने मेसिन सञ्चालन गर्ने)गोविन्द बधनगरिया, बालरोग विशेषज्ञ डा विराज पराजुली नर्सहरूको टोली संलग्न थिए ।

भरतपुर अस्पतालका चिकित्सकले निमोनियाको शङ्का गरेर महिमालाई सिफारिस गरेका थिए। बीस दिन एनआइसीयूमा राखेर उपचारपछि महिलामा अहिले पूर्णरूपमा निको भएकी छिन्। उनलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ ।

यसैबीच खेती किसानी र ज्याला मजदुरी गर्ने मिलनलाई छोरीको उपचार गर्न आर्थिक अभाव भएको छ। हालसम्म पाँच लाखभन्दा बढी खर्च भइसकेको जनाउँदै उनले सरसापट गरेर उपचार गर्दै आएको बताए ।

काठमाडौँका सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र र मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा १५ वर्षमुनि र ७५ वर्षमाथिकालाई मुटुको उपचार निःशुल्क हुने भए पनि उपत्यका बाहिर यो सुविधा सरकारले दिएको छैन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *