पोखरा विमान दुर्घटना : ६ जनाको शव ‘डिएनए’ बाट पहिचान गरिने
काठमाडौँ, ११ माघ । पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको छ। काठमाडौँ ल्याइएका ४८ मध्ये ६ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिबि शिक्षण अस्पतालले जनाएको छ ।
फरेन्सिक र फिङगर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको छ ६ जनाको शव ‘डिएनए’ परीक्षणबाट पहिचान गरिने अस्पतालले जनाएको छ ।
६ जनाको शव अत्यधिक जलेको हुनाले फरेन्सिक र फिङगर फ्रिन्ट विधिबाट पहिचानमा समस्या भएकाले डिएनए विधिबाट पहिचान गर्ने प्रक्रिया सुरु गरेको अस्पतालले जनाएको छ ।
शवको ‘डिएनए’ परीक्षण नेपाल प्रहरीको प्रयोगशालामा गरिने छ। परीक्षणका लागि मृतक र मृतकका नातेदारको नमुना सङ्कलन गर्ने कार्य भइरहेको छ। यो विधिबाट शव पहिचान गर्न कम्तीमा २२ दिन लाग्ने छ। विमान दुर्घटनाका ४८ शव फरेन्सिक जाँचका लागि काठमाडौँ ल्याइएको थियो भने पोखरामा २२ शवको जाँच गरिएको थियो ।
यही माघ १ गते काठमाडौँबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका ४ सदस्यसहित ७२ जनाको निधन भएको थियो ।
सम्पर्क इमेल : [email protected]