अतिरिक्त स्वास्थ्य सचिव बढुवाका लागि पुन: फाइल पठाउँदै स्वास्थ्य मन्त्रालय

काठमाडौँ, २० पुस । अतिरिक्त स्वास्थ्य सचिव (अधिकृत १२ औँ तह) पदमा बढुवाका लागि पहिले सिफारिस गरेका नाममा निर्णय नहुँदै सरकार परिवर्तन भएपछि बढुवा फाइल पुन: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय फर्केको छ । मन्त्रालयले अब फेरी मन्त्रीस्तरीय निर्णय गर्दै नयाँ फाइल पठाउने तयारी गरेको छ ।

मन्त्रालयले आज भोलीमै नाम सिफारिसको नयाँ फाइल मन्त्रिपरिषदमा पठाउने तयारी गरेको छ ।

‘मन्त्रिपरिषदमा पठाएको प्रस्ताव निर्णय नहुँदै सरकार परिवर्तन भयो भने प्रस्तावहरु अटोमेटिक रुपमा मन्त्रालय फर्किन्छ र नयाँ प्रस्ताव पठाउनु पर्ने हुन्छ । यो सबै मन्त्रालयको हकमा लागू हुने कुरा हो । हामीले यसअघि पठाएको नाममा निर्णय नभएका कारण पुन: नाम सिफारिस सम्वन्धी प्रस्ताव पठाउने हो,’ स्वास्थ्यका सहसचिव मदनकुमार भुजेलले भने ।

उनका अनुसार फाइन नयाँ गए पनि सिफारिस गरिएका नाम भने पुरानै जाने छन् ।

गत ७ पुसमा स्वास्थ्य मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले दुईवटा रिक्त पदका लागि तीन जनाको नाम सिफारिस गरेको थियो ।

त्यसमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. श्रीकृष्ण श्रेष्ठ, लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटा र प्रदेश अस्पताल भद्रपुरका डा. टंक बराकोटी परेका थिए ।

समितिले एक नम्बरमा डा श्रेष्ठ, दुई नम्बरमा डा देवकोटा र तीन नम्बरमा डा बराकोटीको नाम सिफारिस गरेको थियो ।

अबको मन्त्रिपरिषद् बैठकका लागि मन्त्रालयले यहि नाम नै पठाउने तयारी गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *