पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार दुई जनाको मिर्गौला प्रत्यारोपण

काठमाडौँ, १६ पुस । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा थप दुई जनाको मिर्गौला प्रत्यारोपण भएको छ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोगमा पोखरामा शुक्रबार पाँचौँ र छैटौँ प्रत्यारोपण भएको हो ।

प्राविधिक टोलीको नेतृत्व गरेका प्रत्यारोपण केन्द्रका निर्देशक एवं प्रत्यारोपण सर्जन डा पुकारचन्द्र श्रेष्ठका अनुसार शुक्रबार पहिलो केशको रुपमा काठेपुल गाउँपालिका ४ बागलुङका २४ वर्षीय बोमबहादुर पुनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई ५० बर्षीया आफ्नी आमा कमला पुनले मिर्गौला दान गरेकी थिईन् ।

यस्तै शुक्रबार नै रुपा गाउँपालिका ५ कास्कीका २३ बर्षका निरज श्रेष्ठको पनि मिर्गौला प्रत्यारोण भएको छ । उनलाई ५३ वर्षका आफ्नै बुबा उत्तमकुमार श्रेष्ठले मिर्गौला दान दिएका थिए ।

शुक्रबार प्रत्यारोपण गरिएका दुबै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको डा. श्रेष्ठले बताए ।

पोखरामा भइरहेको मिर्गौला प्रत्यारोपणको निरीक्षण गर्न शुक्रबार नै स्वास्थ्य सचिव देवकुमारी गुरागाईँ समेत पोखरा पुगेकी थिईन् । उनले उपत्यका बाहिर प्रत्यारोपणलाई दीगो र व्यवस्थित गर्न के गर्न सकिन्छ भनेर प्राविधिक चिकित्सक तथा पदाधिकारीहरुसंग सल्लाह समेत गरेकी थिईन् ।

शुक्रबारको प्रत्यारोपण कार्यको नेतृत्व भक्तपुरबाट गएका प्रत्यारोपण सर्जन डा पुकारचन्द्र श्रेष्ठले गरेका थिए । उनीसंगै प्रत्यारोपण केन्द्र भक्तपुरबाटै गएका डा दीपेश श्रेष्ठ, डा रबिकिरण गौतम, डा हरि बराल पनि सहभागी थिए । यस्तै एनेस्थेसियोलोजिष्ट डा रस्मित श्रेष्ठ, स्टाफ नर्सहरु कामना विगाती, दीपा केसी पनि प्रत्यारोपण केन्द्रबाट पोखरा पुगेका थिए ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा प्रकाश क्षेत्री, डा अनुप चापागाईँ, डा सन्तोष श्रेष्ठ, डा डेभिड श्रेष्ठ, नेफ्रोलोजिष्ट डा जुनु श्रेष्ठ पनि प्रत्यारोपण कार्यमा सहभागी थिए ।

मिर्गौला प्रत्यारोपणलाई देशव्यापी बनाउने सरकारको अभियान अन्तरगर्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग सम्झौँता गरी प्रत्यारोपण कार्य प्रारम्भ गरेको हो । प्रत्यारोपण केन्द्रको सहयोगमा पोखरामा पहिलो प्रत्यारोपण गत ९ असारमा भएको थियो । त्यस यता अहिलेसम्म ६ वटा प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ ।

सम्झौँता अनुसार प्रतिष्ठानमा प्रत्यारोपणसंगै प्रत्यारोपण केन्द्रले त्यहाँका जनशक्तिलाई पनि आवश्यक तालिम दिई प्रत्यारोपणका लागि सक्षम बनाउने भन्ने छ । प्रतिष्ठान आफू पूर्ण सक्षम नहुँदासम्म प्रत्यारोपण केन्द्रबाट नै टोली गएर प्रत्यारोपणमा सघाउने सम्झौतामा उल्लेख छ ।

त्यसो त प्रत्यारोपण केन्द्रले पोखरा मोडलमै प्रादेशिक अस्पताल सुर्खेत, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौडामा पनि मिर्गौला प्रत्यारोपण सेवा अघि बढाउने तयारी गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *