स्वास्थ्यले स्पष्टीकरण सोधेको चौविस घण्टा नबित्दै दुई संस्थाले पठाए जवाफ
आवश्यक निर्णय सचिवले लिने
काठमाडौँ, १४ पुस । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र महाराजगञ्जले मन्त्रालयस्तरीय विकास समस्या समाधान उपसमिति (प्रिएमड्याक)को बैठकमा अनुपस्थित भएको विषयमा जवाफ पठाएका छन् ।
यी दुई अस्पताल गत स्वास्थ्य मन्त्रालयमा गत मंगलबार र बुधबार गरी दुई दिन चलेको बैठकमा बिना जानकारी अनुपस्थित भएका थिए । मंगलबार अस्पताल र प्रतिष्ठानहरुको प्रगति रिपोर्ट प्रस्तुत गर्ने बेलामा अनुपस्थित भएपछि मन्त्रालयले सोही दिन चौविस घण्टा भित्र स्पष्टीकरण पेश गर्न भन्दै पत्र काटेको थियो ।
मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेलले दुबै संस्थाले तोकिएको समयावधी भित्रै पत्र पठाएको बताए । ‘पत्र आएको छ र सचिव ज्यूकोमा पेश भएको छ । अब आवश्यक निर्णय त्यहिबाट हुनेछ’ पौडेलले भने ।
स्वास्थ्य सचिव देवकुमारी गुरागाईँको अध्यक्षतामा बसेको प्रि एमड्याक बैठकमा पहिलो चौमासिक समिक्षा समिक्षा गर्दै भएका र हुन नसकेका कामबारे छलफल भएको थियो । सो बैठकमा यी दुई संस्थाले बिना जानकारी अनुपस्थित भएको भन्दै आलोचना भएको थियो ।
सो बैठकमा स्वास्थ्य मन्त्रालयबाट पैला लाने तर काम प्रगतिको अवस्था के छ पेश नगर्ने, अनिवार्य रुपमा आउनु पर्ने बैठकमा नआएको भन्दै चर्को आलोचना भएको थियो ।
सम्पर्क इमेल : [email protected]