कोभिड प्रतिबन्धविरुद्ध लचक बन्दै चीन : आफूकहाँ आउने विदेशीले क्वारन्टिनमा बस्नु नपर्ने

एजेन्सी । चीनले आफ्नो देशमा आगमन गर्ने यात्रुहरू क्वारेन्टिनमा बस्नुपर्ने नियम आगामी ८ जनवरीबाट अन्त्य हुने घोषणा गरेको छ। शून्य कोभिड नीति अन्तर्गत लगाइएका प्रतिबन्ध शृङ्खलाबद्ध रूपमा हटाउने क्रममा चीनको यो पछिल्लो घोषणा हो।

त्यसो त चीनमा पछिल्लो समय कोभिड संक्रमण तीब्र रुपमा बढेको बताइएको छ । त्यहाँका स्वास्थ्यकर्मीहरूले कोभिडसंग जुध्न आफूहरूले सङ्घर्ष गरिरहेको बताएका छन्। विदेशी सञ्चार माध्यमहरुले दैनिक लाखौँ संक्रमित थपिएको दावी समेत गरेका छन् । तर चिनियाँ सरकारी विवरणमा ती कुराहरु खासै उल्लेख गरिएका छैनन् ।

कोभिडबारेका नियम परिवर्तनका सम्बन्धमा आफ्नो पहिलो टिप्पणी गर्दै राष्ट्रपति सि जिनपिङले अधिकारीहरूलाई जीवन बचाउन जे “सम्भव” हुन्छ त्यही गर्न आह्वान गरेका छन्।

उनलाई उद्धृत गर्दै सरकारी सञ्चारमाध्यमहरूले देशले नयाँ अवस्थाको सामना गरेको र त्यसप्रति थप लक्षित प्रतिक्रिया जनाउन आवश्यक रहेको उनले बताएको जनाएका छन्।

चीनले कोभिडबारेका नयाँ तथ्याङ्क सार्वजनिक गर्न बन्द गरेको छ तर प्रत्येक दिन हजारौँ मानिसको ज्यान गइरहेको हुनसक्ने ठानिएको छ।

सन् २०२० को मार्चयता चीन आगमन गर्ने सबै यात्रुहरूले क्वारन्टिनमा बस्नुपर्ने बाध्यकारी नियम लगाइएको थियो।

तर त्यसरी क्वारन्टिन बस्नुपर्ने समय भने तीन साताबाट अहिले पाँच दिन बस्नुपर्ने गरी उल्लेख्य रूपमा घटाइएको थियो।

नयाँ नियम अनुसार कोभिडलाई ए वर्गको सङ्क्रामक रोगबाट बी वर्गमा झारिएको छ जसको अर्थ अब क्वारन्टिनमा बाध्यकारी रूपमा बस्नुपर्दैन भन्ने हो।

चीनले कोभिड महामारीको व्यवस्थापन कसरी गरेको थियो भन्ने विषयले राष्ट्रपति सीलाई अप्ठ्यारो स्थितिमा पुर्‍याएको विश्लेषकहरू बताउँछन्।

उनकै कारण शून्य कोभिड नीति अपनाइएको थियो र त्यस कारण अर्थतन्त्रलाई असर परेको र मानिसको जीवनलाई त्यसले धेरै हदसम्म प्रतिबन्धात्मक बनाएको आरोप उनीमाथि लाग्दै आएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *