सीमा क्षेत्रमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह
बैतडी, ११ पुस । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिनसक्ने भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरिएको छ ।
छिमेकी देशमा सङ्क्रमण बढ्दै गएकाले सीमा जोडिएको जिल्ला भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो । जिल्ला प्रशासन कार्यालय बैतडीले एक सूचना जारी गर्दै छिमेकी देशमा कोरोनाको नयाँ भेरियन्ट देखिएकाले नेपालमा पनि यसको जोखिम रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ ।
जोखिम बढेकाले स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्न आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । भीडभाड हुने स्थलमा सकभर नजान र जानै परे मास्क, स्यानिटाइजरको प्रयोग गर्नुपर्नेमा प्रशासनले जोड दिएको छ ।
सार्वजनिक यातायातमा यात्रा गर्दा मास्क, स्यानिटाइजरको प्रयोग गर्न र भौतिक दूरी कायम राख्न आग्रह गरिएको छ । कोभिड–१९ विरुद्ध खोपको बुस्टर मात्रा लगाउन छुट भएकाले नजिकका स्वास्थ्य संस्थामा गएर खोप लगाउन आग्रह गरिएको छ ।
जोखिम बढ्दै गएकाले सीमाक्षेत्रमा सतर्कता अपनाइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा यसअघि नै हेल्थ डेस्क स्थापना गरेर कोरोनाको खोप कार्ड जाँच गरी मात्र वारपार गर्न दिइएको छ ।
बैतडीसहित सुदूरपश्चिम प्रदेशमा हालसम्म छ लाख १८ हजार सात सय १४ जनाको कोरोना परीक्षण गरिएकामा ६१ हजार आठ सय ७२ जनामा सङ्क्रमण भइसकेको छ । सङ्क्रमणकै कारण यस प्रदेशमा छ सय ३५ जनाको ज्यान गइसकेको छ ।
सम्पर्क इमेल : [email protected]