‘किशुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा राष्ट्रिय अभियान’मा सरकारको साथ रहने छ : प्रधानमन्त्री देउवा


काठमाडौँ, ९ पुस । प्रधानमन्त्री शेरवहादुर देउवाले किशुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा राष्ट्रिय अभियानमा सरकारको साथ रहने बताएका छन्। किशुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा– राष्ट्रिय अभियानको शनिबार शुभारम्भ गर्ने क्रममा प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् ।

सन्त नेताको रुपमा परिचित पूर्वप्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको ९८ औँ जन्मजयन्तीको अवसरमा सन्तनेता कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले विभिन्न संस्थाहरुसंगको सहकार्यमा शनिबार देखि किशुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा– राष्ट्रिय अभियान सुरु गरेको छ ।

ललितपुरको बाँडेगाँउस्थित कृष्णप्रसाद भट्टराई आश्रममा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले सरल र निश्वार्थी नेता भट्टराइको नाममा सुरु भएको यो अभियान देशव्यापी बनोस भनेर शुभकामना समेत दिए ।

कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले सन्त नेता भट्टराईको नाममा स्थापित स्वास्थ्य अभियान गोदावरी नगरपालिकाबाट शुरु गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले यो अभियान एक पवित्र र सन्तनेता भट्टराईको आश्रमबाट शुरु भएर छिटै देशव्यापी बन्ने विश्वास लिए ।

कार्यक्रममा दन्त चिकित्सक समेत रहेका पुन्यार्जन फाउन्डेशनका अध्यक्ष समेत रहेका डा सुशील कोइरालाले सन्त नेता भट्टराईले उपचारका क्रममा चिकित्सकसंग व्यक्त गरेका भावना साकार पार्न यो अभियान सुरु गरिएको बताए । उनले भने, ‘उहाँ (भट्टराई)ले आफूलाई उपचार गर्ने बेलामा डाक्टरसंग मलाई त तपाईंहरु उपचार सेवा दिनुभयो तर म जस्तै एकल र वृद्ध नेपालमा धेरै छन् उनिहरुको उपचार कसले गर्छ भनी प्रश्न गर्नुहुन्थ्यो । उहाँले त्यसबेला देखाउनु भएको चासोलाई सम्वोधन गर्न पनि प्रतिष्ठानले यो अभियान सुरु गरेको हो ।’

उनले स्वर्गीय भट्टराईको सो चासोलाई सम्वोधन गर्न प्रतिष्ठानले प्रविधिका माध्यमबाट मुलुकभर यो स्वास्थ्य सेवा पुर्‍याउने प्रयाश भएको जानकारी दिए । डा कोइरालाले नमूना केन्द्र आश्रममा बनाइएको र टेलिमेडिसिनका माध्यमबाट नेपालमा उपलब्ध जेरियाट्रिसियनहरुको संलग्नतामा स्वास्थ्य परामर्श तालिम तथा जानकारी दिइने बताए।

कार्यक्रम सन्त नेता कृष्णप्रसाद भट्टराई प्रतिष्ठाका अध्यक्ष पीएल सिंहको सभापतित्वमा भएको थियो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *