गण्डकी प्रदेशमा पनि सुरु हुँदै विद्यालय नर्स कार्यक्रम

काठमाडौँ, ८ पुस ।  गण्डकी प्रदेश सरकारले विद्यालय नर्स कार्यक्रम सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेशले विद्यालय नर्स कार्यक्रमका लागि विद्यालय छनौट गर्न जिल्ला स्वास्थ्य कार्यालयहरुलाई अनुरोध गरेको छ । उसले विद्यालय छनौटका लागि आधार समेत तोकिदिएको छ ।

गण्डकीका स्वास्थ्य सचिव डा विश्वबन्धु बगालेले आफ्नो मन्त्रालयको चालु आर्थिक बर्ष २०७९/८० को बार्षिक स्वीकृत कार्यक्रम अन्तगर्त विद्यालय नर्स कार्यक्रम रहेको भन्दै यसलाई कार्यान्वयन गर्न खोजिएको बताए ।

उनले प्रदेशका लागि नयाँ कार्यक्रम भएको र नमूनाको रुपमा सञ्चालन गर्ने भएकोले सबै विद्यालयहरुमा यो कार्यक्रम सञ्चालन नहुने पनि स्पष्ट पारे ।

‘पहिलो त यो नयाँ कार्यक्रम हो । त्यसैले परीक्षणका लागि भनेर बजेट पनि जम्मा १० लाख जति राखिएको रहेछ । आधा आर्थिक बर्ष सकिन लागिसकोले यस बजेटबाट ११ जिल्लाका १८ वटा जति विद्यालयमा यो कार्यक्रम लागू गर्ने कि भन्ने योजना छ । त्यसका लागि स्वास्थ्य कार्यालयमार्फत विद्यालय छनौट गरी पठाईदिन भनिएको छ ,’ स्वास्थ्य सचिव डा. बगालेले भने ।

मन्त्रालयले सेवा करारमा चिकित्सक र स्वास्थ्यकर्मी व्यवस्थापन कार्यविधि २०७९ अनुसार स्टाफ नर्स (पाँचौ तह) सेवाका लागि एकमुष्ट विज्ञापन गर्ने तयारी भएको समेत बताए ।

मन्त्रालयले सबै स्वास्थ्य कार्यालयलाई विद्यालय छनौटको ढाँचा पठाएर सोही अनुसार सात दिन भित्र विद्यालय नाम सिफारिस गर्न भनेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *