स्वास्थ्य बीमा गरेकासंग थप १० प्रतिशत शुल्क लिने तयारी

भने अनुसारको उपचार सुविधा नपाएपछि नविकरण गराउने कम हुन थाले

काठमाडौँ, २३ मंसिर । स्वास्थ्य बीमा बोर्डले बीमित बिरामीबाट पनि १० प्रतिशत शुल्क लिने तयारी गरेको छ । बीमितहरुले अस्पतालमा जथाभावी स्वास्थ्य परीक्षण गर्न थालेको भन्दै नियन्त्रणका लागि उपचार खर्चको १० प्रतिशत शुल्क लिने तयारी गरेको हो ।

बीमा बोर्डको बैठकले केही समय अघि यस विषयलाई अघि बढाउने निर्णय गर्दै कार्यविधि बनाउने तयारी थालेको छ ।

बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले केही रोगका विषयमा उपचार गर्दा बीमीतसंग १० प्रतिशत शुल्क लिने गरी कार्यविधि संसोधन गर्न खोजिएको बताए । उनले भने, ‘सबै रोगलाई होइन केहीलाई गर्नै पर्ने देखियो । तर राज्यले प्रिमियम तिरिदिएकाहरुले भने थप शुल्क तिर्न पर्दैन ।’
तर पछिल्लो समय बीमा गराएका सबैले राम्ररी सुविधा भने पाउन सकेका छैनन् ।

बीमाका लागि सूचीकृत अस्पतालहरुले आफूखुशी पैसा लिने, परीक्षण उपचार तथा औषधिको अभाव देखिने समस्या झन् झन् बढदो छ । भने अनुसार उपचार सुविधा नपाउँदा बीमा नविकरण गर्नेहरु समेत कम हुन थालेका छन् ।

बोर्डका वरिष्ठ जनस्वास्थ्य प्रशासक तथा प्रवक्ता शम्भुप्रसाद ज्ञवालीले बीमित बिरामीले जथाभावी परीक्षण गरेकाले रेफर अस्पतालमा उपचार गरेबापत १० प्रतिशत सहभुक्तानी तिर्नुपर्ने तयारी गरेको बताए ।

प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल, जिल्ला अस्पताल, प्रदेशस्तरीय अस्पताल र आकस्मिक सेवाबाहेकका अर्को जाँचका लागि सिफारिस गरिएको (रेफरल) अस्पतालमा उपचार गर्दा १० प्रतिशत शुल्क बीमितले व्यहोर्नुपर्ने बताइएको छ ।

‘बीमितले जथाभावी परीक्षण गर्ने गरेको गुनासो अस्पतालले हामीसँग गरे’, ज्ञवालीले भने, ‘बीमितलाई जथाभावी परीक्षण नगरुन् भनेर १० प्रतिशत शुल्क तोकेका हौं।’

बीमितले जिल्ला तहमा उपचार भए पनि काठमाडौँका अस्पतालमा जाँचका लागि सिफारिस  माग्ने गरेको अस्पतालबाट गुनासो आएको उनी बताउँछन् ।

‘जिल्ला तहमा पनि उपचारको राम्रो व्यवस्था भए पनि बीमितले काठमाडौँका अस्पतालमा रेफर मागेका गुनासो चिकित्सकबाट आएका छन्’, उनले भने, ‘त्यही भएर हामीले नै १० प्रतिशत रेफर गरिएको अस्पतालमा उपचार गरे शुल्क लाग्ने कार्यविधि बनाउँदैछौँ ।’

बोर्डले लक्षित वर्गलाई भने शुल्क नतोक्ने भएको छ । लक्षित वर्गमा अतिगरिबी, अति अशक्त अपाङ्गता, कुष्ठरोगी, एचआइभी सङ्क्रमित, जटिल खालका क्षयरोगी भएका परिवार र ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक पर्दछन् । बोर्डले अब प्याकेजमा आधारित उपचार गर्ने भएको छ ।

कुनै रोगमा कुनकुन रोग देखिन्छन् सोही आधारमा प्याकेजमा नै बीमितको उपचार गरिने भएको हो । क्यान्सर, मिर्गौला, मुटु र गम्भीर प्रकारका रोगको प्याकेजमा नै उपचारको व्यवस्था गर्न थालिएको बोर्डका प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

एक पटक रेफर गरेपछि फेरि गर्न नपर्ने गरी कार्यविधि बनाउन थालिएको बताइएको छ । प्रथम सेवा बिन्दुको अस्पतालले रेफर गरे पनि अन्य जुनसुकै अस्पताल पनि उपचारका लागि जान पाइने गरी कार्यविधि बनाउन थालिएको उनले जानकारी दिए ।

यसअघि प्रथम सेवा बिन्दुको अस्पतालबाट रेफर कुनै अस्पतालमा गरेपछि त्यहा पनि उपचार नभए पनि फेरि प्रथम सेवा बिन्दुकै अस्पतालमा आएर रेफर लेख्नुपर्ने रहेको थियो । त्यसले बीमितलाई समस्या पर्ने भएकाले एकपटक रेफर गरेपछि पुनःरेफर गर्नु नपर्ने भएको छ ।

२०७२ ०७३ साल कैलाली, इलाम र बागलुङ गरी तीन जिल्लाबाट सुरु गरिएको बीमा कार्यक्रम अहिले सबै जिल्लामा लागू छ । अहिलेसम्म ४५ लाख ६२ हजार दुई सय सात जना स्वास्थ्य बीमामा आबद्ध रहेका छन् ।

प्रतिपरिवार पाँच जनासम्म वार्षिक रु तीन हजार पाँच सयको बीमा गरे रु एक लाखसम्म उपचार सेवा निःशुल्क पाउने गर्दछन् । बीमा गरेबापत बीमितले एक हजार एक सय २३ औषधिजन्य सामग्री निःशुल्क पाउने गर्दछन् ।

सरकारले अतिगरिबी, अतिअशक्त अपाङ्गता, कुष्ठरोगी, एचआइभी सङ्क्रमित, जटिल खाका क्षयरोगी भएका परिवार र ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको भने सरकारले नै बीमा गरिदिने गर्दछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *