अवकाश पछि गोरखा अस्पतालमा ‘भोलेन्टियर’ सेवा दिन पुगे डा. गुणराज लोहनी
काठमाडौँ, २० मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव रहेका डा गुणराज लोहनीेले सरकारी सेवालाई विट मार्ने गरी गत ३ कात्तिकमा अनिवार्य अवकाश पाएका थिए । त्यसको झण्डै डेढ महिना पछि उनी पुन स्वास्थ्य सेवामा फर्किएका छन् । तर यसपटक सरकारी होइन स्वयंसेवी डाक्टरको रुपमा ।
गत आइतबार देखि उनले गोरखा अस्पतालबाट स्वयंसेवी डाक्टरको रुपमा स्वास्थ्य सेवा प्रदान गर्न थालेका छन् ।
अस्पताल नजिकै डेरा लिएर बसेका डा लोहनीले विहान १० देखि अपरान्ह ५ बजेसम्म उपचार सेवामा खटिने बताएका छन् ।
‘यहाँ डाक्टरहरुको टिम छ । उहाँहरुसंग समन्वय गरेर म पनि सेवा दिन थालेको छु । मेरो सेवा भोलेन्टिर डाक्टरको रुपमा हो । कम्तीमा तीन महिना यसैगरी काम गर्छु,’ उनले अर्थ्र्याए ।
विसं २०५२ सालमा मेडिकल अफिसरको रुपमा सरकारी सेवामा प्रवेश गरेका डा लोहनीले सुरुवाती पोष्टिङ गोरखा जिल्ला अस्पताल थियो ।
सरकारी स्वास्थ्य सेवामा करीव २७ वर्ष विताएका उनले सबैभन्दा बढी (७ वर्ष) गोरखा जिल्ला अस्पतालमा काम गरे ।
‘गोरखासंग मेरो पुरानो साइनो छ । मैले २७ वर्ष बढी सरकारी सेवामा काम गर्दा १५ १६ जिल्ला पुगें । कहि चार महिना कहि छ महिना कहि एक दुई वर्ष पनि विताएँ तर गोरखामा म दुई पटक गरेर ७ वर्ष गोरखामा काम गरे । यो अवधीमा यहाँबाट मैले यति धेरै माया स्नेह पाएँ कि मेरो सेवा गर्ने भोक निरन्तर जागि नै रहयो । लामो समय बसें त्यसैले पनि यहाँका टोल बस्ती, व्यक्तिहरु मेरालागि अपरिचित होइन, त्यसैले मैले अवकाश पछि यहाँ आएर सेवा गर्छु भन्ने पहिल्यै योजना बनाएको थिएँ,’ टेलिफोनमा डा लोहनीले भने ।
विसं २०५२ सालमा मेडिकल अफिसरको रुपमा स्थायी भएपछि सुरु पोष्टिङ लिएर गोखरामा पुगेका डा लोहनी २०५५ सालसम्म त्यहाँ विताए । दोस्रो पटक उनी विसं २०६५ पुन गोरखा पुगे र २०६९ सम्म त्यहाँ सेवा गरे ।
त्यसो त डा लोहनीले सरकारी सेवाबाट अवकाश पाएको भोली पल्ट देखि नै गोरखा पुगेर भोलेन्टियरको रुपमा सेवा दिने योजना गरेका थिए ।
तर देश चुनावी माहोलमा छिरिसकेको र आफ्ना केही नगरी नहुने कामहरु पनि बाँकी रहेकोले केही ढिला गरि भोलेन्टियर गर्न थालेको बताए ।
पहिलो दिन नै आफूले ३५ बढी बिरामी हेरेको भन्दै यो संख्या बढ्दै जान थालेको बताए ।
सम्पर्क इमेल : [email protected]