सन्दर्भ : विश्व मधुमेह दिवस - २०२२

हाम्रो शरीरमा चिनीरोग छिरे पछि गर्न सक्ने ‘पाँच घातहरु’

चिनीरोगबारे धेरैले सुनेका छन् । तर थोरैले मात्र बुझेका छन् । यो रोगका महत्वपूर्ण र खतरनाक पक्षहरुबारे चर्चा गर्न विश्व मधुमेह दिवसका अवसरमा सान्दर्भिक ठान्दछु ।

विश्व मधुमेह दिवस सन् १९९१ देखि प्रत्येक वर्ष नोभेम्बर १४ का दिन मनाइन्छ । नोभेम्बर १४ मा इन्सुलिनका आविष्कारक फ्रेडरिक बेन्टिङ्ग जन्मिएका थिए ।

मानव शरीरभित्र चिनी पचाएर उर्जामा बदल्ने काम इन्सुलिनले गर्दछ । यो महत्वपूर्ण रसायन–इन्सुलिनको आविष्कार सन् १९२१ मा भएको थियो । इन्सुलिनको अभाव भएर शरीरमा चिनी नपच्ने र पिसाबबाट चिनी बाहिर निस्कने रोग मधुमेहको नामबाट परिचित हुनपुग्यो ।

आधुनिक सभ्यता, औद्योगीकरण, व्यापारिक प्रतिस्पर्धा, उच्च आकांक्षा आदिका कारण २१ औं शताब्दीको हाम्रो जीवनशैलीमा ठूलो परिवर्तन आएको छ । हाम्रो खानपान र रहनसहन अस्वस्थकर भएको छ ।

अहिलेका मानिसमा शारीरिक व्यायाम घटेको छ र मानसिक तनाव बढेको छ । एकातिर मानिसहरुमा धुम्रपान र मद्यपान गर्ने बानी बढेको छ भने खानामा सागसब्जी, गेडागुडी र फलफूलको मात्रा चाहिं घटेको छ ।

हामीलाई आफ्नो शरीर र स्वस्थ्यको भन्दा आफ्नो काम र व्यवसायको बढी चिन्ता छ । कामको व्यस्तताले गर्दा शरीरलाई स्वस्थ राख्नेतर्फ ध्यान पुगिरेहको छैन । जीवनशैलीमा आएको यस्तो अस्वस्थकर परिवर्तनले गर्दा धेरै प्रकारका रोगहरुले बढ्ने मौका पाएको छ । यस्ता रोगहरुमध्ये मधुमेह पनि एक हो ।

मधुमेहले अहिले विश्वव्यापी महामारीकै रुप लिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको अनुमान अनुसार संसारभर सन् १९९५ मा १३ करोड ५० लाख मानिसलाई भएको मधुमेह २०२५ मा ३० करोडलाई हुनेछ र त्यसको ठूलो संख्या विकासोन्मुख देशहरुमै हुनेछन् । अन्य क्षेत्रको तुलनामा दक्षिण एशियामा यसको प्रकोप झन् बढी छ भने नेपाल त्यसमध्ये पनि अग्रस्थानमा छ । नेपालको शहरी क्षेत्रको अनुमानित १४.६ प्रतिशत जनसंख्यामा पाइएको मधुमेह रोग भारत, पाकिस्तान र बंगलादेशमा क्रमशः १२.१, १०.८ र ७.९ प्रतिशतमा मात्र छ ।

अर्को डरलाग्दो तथ्य त “बुढेसकालको रोग” ठानिने मधुमेह यस भेगमा ३० वर्ष र अझ त्यो भन्दा कम उमेरमा समेत देखिन थालेको छ ।

डाक्टरी पेसामा कार्यरत रहँदा हिजोआज उच्च रक्तचाप र मधुमेह भएका व्यक्तिहरुसँग बारम्बार भेट भइरहन्छ । उच्च रक्तचाप सम्बन्धमा सहरी क्षेत्रमा जनचेतना बढेको पाइएको छ । ब्लड प्रेसर बढेमा प्यारालाइसिस हुन सक्छ अनि छाती दुखेमा हर्ट अट्याक हुन सक्छ भन्ने सुनेर हो वा बुझेर हो हिजोआज अस्पताल र क्लिनिकहरुमा ब्लड प्रेसर बढेका र छाती दुखेका बिरामीहरुको लाइन लाग्ने गरेको छ ।

प्यारालाइसिस भएर ओछ्यानमै पल्टिरहन वा हर्ट अट्याक भएर अल्पायुमै मर्न कसलाई पो इच्छा हुन्छ र ! यी रोगहरुबारे बढ्दै गइरहेको जनचेतनाका कारण भोलि हुन सक्ने दुर्घटनाबाट बच्न केही हदसम्म भए पनि सघाउ पुगेको छ ।

हृदयघात र उच्च रक्तचापबारे केही हदसम्म जनचेतना अभिवृद्धि भए तापनि यसको तुलनामा मधुमेह अर्थात् चिनीरोग र यसका खतराहरुबारे खासै जनचेतना अभिवृद्धि भएको पाइएको छैन ।

ब्लड प्रेसर अलिकति बढ्दा दौडिएर डाक्टरकहाँ जँचाउन आउने व्यक्तिहरुमध्ये धेरैजसोले मधुमेह भएको थाहा पाएर पनि उपचार गराउनेतर्फ सचेत नभएको पाइएको छ ।

ब्लड प्रेसरको औषधी खान नाइँ नभन्ने तर ब्लड सुगर बढेकोलाई नियन्त्रण गर्ने औषधि नखाई मुख मात्रै बारी हेरौं भन्ने व्यक्तिहरु धेरै संख्यामा भेटिन्छन् । ब्लड प्रेसरबाट भन्दा बढेको ब्लड सुगरबाट शरीरका लागि बढी खतरा छ भन्ने जानकारीको जनसमुदायमा कमी रहेको पाइएको छ ।

हामी सबैले थाहा पाउनु पर्ने अर्को कुरा :

रगतमा चिनी (ग्लुकोज) को मात्रा बढी भएमा यसले बिस्तारै–बिस्तारै मुटु, दिमाग, आँखा, मिर्गौला तथा नसाहरुलाई रोगग्रस्त तुल्याउँदै रोगीलाई मृत्युको शैयातर्फ धकेल्दै लान्छ भन्ने तथ्यबारे सबैलाई जानकारी गराउनुपर्ने आवश्यकता छ ।

बिहान खाली पेटमा (फास्टिङ) रगत जाँच्दा यदि १०० मिलिग्रामभन्दा बढी देखियो भने ब्लड सुगर बढेको मानिन्छ ।

यदि १००–१२६ मि.ग्रा. को बीचमा देखियो भने डाइबेटिज रोग लाग्ने सम्भावना बढी भएको मानिन्छ भने १२६ मि. ग्रा. भन्दा बढी फास्टिङ ब्लड सुगर देखियो भने डाइबेटिज अर्थात् मधुमेह रोग लागेको प्रमाणित गरिन्छ ।

यस कारण डाइबेटिज रोग छ-छैन भनेर पत्ता लगाउन रगत जाँचेर हेरिन्छ । रगतमा ग्लुकोजको मात्रा १८० भन्दा बढी भएको अवस्थामा पिसाब जाँचेर पनि डाइबेटिस भए-नभएको पत्ता लगाउन सकिन्छ ।

एउटा स्वस्थ व्यक्तिको रगतमा ग्लुकोजको मात्रा नियन्त्रित रहन्छ ।

९–१० घण्टा भोकै रहँदा पनि रगतमा ग्लुकोजको मात्रा ७०–१०० मि.ग्रा. को बीचमा रहन्छ भने खाना खाएपछि २ घण्टामा जाँच्दा यो १४० मि.ग्रा. सम्म पुग्न सक्छ ।

साधारणतया हामीले खाएको खाना शरीरभित्र ग्लुकोजमा परिवर्तन हुन्छ । मानवशरीरको प्रमुख शक्तिको स्रोत ग्लुकोज हो ।

शरीरका सबै अङ्गहरुलाई जीवित रहन ग्लुकोजको आवश्यकता पर्छ । ग्लुकोजबाट शक्ति उत्पादन हुने कार्य शरीरमा करोडौको संख्यामा रहेका सेल्सहरु (कोशिकाहरु) भित्र हुन्छ ।

ग्लुकोजलाई रगतबाट कोशिकाहरुभित्र प्रवेश गराउन इन्सुलिन नामक हर्मोन (रासायनिक पदार्थ) को आवश्यकता पर्छ ।

इन्सुलिन पेटको प्यान्क्रियाज नामक ग्रन्थिले उत्पादन गर्छ । यो ग्रन्थि रोगग्रस्त भएको अवस्थामा आवश्यक मात्रामा इन्सुलिन उत्पादन हुन सक्दैन । फलस्वरुप ग्लुकोज कोशिकाहरुभित्र प्रवेश गर्न नसकी रगतमै थुप्रिएर बढ्दै जान्छ । अनि पिसाबबाट बाहिर निस्कन्छ ।

यस प्रकार शक्तिको उत्पादनमा प्रयोग हुनुपर्ने ग्लुकोज त्यत्तिकै खेर जान्छ । यो अवस्थामा एकातर्फ रगतमा ग्लुकोज अत्यधिक मात्रामा बढेको हुन्छ भने अर्कोतर्फ कोशिकाहरुमा शक्तिको उत्पादन हुन नसकेर शरीर एकदम शक्तिविहिन भई कमजोर हुँदै जान्छ । यो अवस्थालाई डाइबेटिज वा मधुमेह अथवा चिनीरोग भनिन्छ ।

रगतमा धेरै ग्लुकोज जम्मा भएपछि मुख सुक्ने, तिर्खा लाग्ने र पिसाब धेरै लाग्ने लक्षण देखा पर्छ । साथमा शरीर दुब्लाएर जान्छ, भोक बढ्छ, शरीर कमजोर हुन्छ, हातखुट्टा झमझम गर्न थाल्छ । पिसाब गरेको ठाउँमा कमिलाहरु देखा पर्नु पनि मधुमेहको एउटा लक्षण हो । पिसाबमा ग्लुकोज जान थालेपछि यस्तो हुन्छ ।

चिनीरोगको नराम्रो पक्ष यो हो कि यस रोगमा साना–ठूलो सबै खाले रक्तनलीहरु प्रभावित हुन्छन् । क्रमिकरुपमा रक्तनलीहरु साँगुरिदै जान्छन् र सुक्न थाल्छन्, फलस्वरुप विभिन्न महत्वपूर्ण अङ्गहरुमा रक्तप्रवाह घट्न थाल्छ ।

रक्तप्रवाहमा अत्यधिक कमी आएको खण्डमा मस्तिष्कघात, दृष्टिघात, हृदयघात, मिर्गौलाघात आदि अवस्थाहरु उत्पन्न हुन्छन् । जसबाट बिस्तारै–बिस्तारै कष्ट, यातना र पीडा दिंदै मृत्युतर्फ धकेल्छ । यसकारण यो रोगलाई मन्द हत्याराको संज्ञा दिए पनि हुन्छ ।

रगतमा ग्लुकोजको मात्रा बढ्ने तर मुख सुक्ने, पिसाब बढी हुने, कमजोरी हुने आदि लक्षण देखि नपरेको खण्डमा अर्थात् शरीरमा कुनै अप्ठेरोपन नभएको खण्डमा रोगीले औषधि उपचारतर्फ ध्यान दिंदैन ।

उपचार नगराएको खण्डमा अलि–अलि बढेको ग्लुकोजले पनि आँखामा असर पारी अन्धो बनाउन सक्छ, दिमागमा असर पारी प्यारालाइसिस गराउन सक्छ, मुटुमा असर पारी हर्ट अट्याक वा हर्ट फेलिएर गराउन सक्छ, साथै मिर्गौलामा असर पारी किड्नी फेलियर गराउन सक्छ ।

यस्तो परिणाम मधुमेह देखा परेको एक वर्षभित्रै पनि देखिन सक्छ । यसकारण मधुमेहको उपचार जति सक्यो चाँडो सुरु गर्नुपर्छ । मुधमेहबाट पीडित रोगीहरुको प्रत्येक ६–६ महिनामा आँखा, दिमाग, मुटु, मिर्गौला आदिको परीक्षण गराउनुपर्छ । यसबाट समयमै यी अङ्गहरुमा मधुमेहका कारण पर्न सक्ने नकारात्मक असरहरुबारे पत्ता लाग्छ र समयमै उपचारको सुरुआत गर्न सकिन्छ ।

सायद धेरै मान्छेलाई थाहा नहुन सक्छ कि मधुमेहका कारण खुट्टाहरु कुहिएर काट्नु पर्ने अनी शारीरिक रुपमा अशक्त भई थन्किनु पर्ने स्थिति आउन सक्छ । मधुमेहका कारण खुट्टामा रक्तसंचार गराउने नशाहरु साँगुरो भई रक्त सञ्चारमा अवरोध उत्पन्न भएमा क्रमिक रुपमा खुट्टा झमझम गर्ने, पैताला पोल्ने र दुख्ने, पछि चिसो हुँदै जाने, निलो हुने अनि कालो भई कुहिने हुन सक्छ । यस्तो भएमा खुट्टा काट्ने बाहेक अन्य विकल्प रहदैन । यस तथ्यलाई ध्यानमा राखि विश्व मधुमेह महासंघले मधुमेह भएका बिरामीहरुले खुट्टाको हेरचाह गर्ने तर्फ विशेष ध्यान दिनु पर्छ भनि सबैको ध्यान आकर्षित गराएको छ ।

मधुमेहले दिनसक्ने प्राणघातक पाँच परिणाम :

मधुमेहले ५ वटा प्राणघातक परिणामहरु जन्माउन सक्दछ । ति हुन् हृदयाघात (हार्ट अट्याक), मस्तिष्कघात (स्ट्रोक प्यारालाइसिस), मिर्गौलाघात (किड्नी फेल), दृष्टिघात (अन्धोपन) र अङ्गघात (खुट्टा कुहिने) ।

यो स्थिति उत्पन्न नहोस् भन्नाका लागि नै जनचेतना जगाउन आवश्यक छ । बढेको ब्लड सुगर खानपानमा नियन्त्रण र व्यायाम प्राणायाम गरेर नियन्त्रणमा आएन भने औषधी खानै पर्छ । यसमा बानी पर्छ, साईड इफेक्ट हुन्छ, अनी शुरु गरे पछि जिन्दगी भर खाई राख्नु पर्छ भन्ने भ्रम पालेर औषधी सेवन गर्ने कार्यमा ढिलाई गर्नु हुँदैन ।

उच्च रक्तचाप र मधुमेह समान प्रकृतिका रोगहरु हुन् । यि दुवै रोगहरु लागेको खण्डमा शरिरका अङ्गहरुलाई २ देखि ४ गुणा बढी नकारात्मक प्रभाव पर्दछ । हृदयाघात, मस्तिष्कघात, मिर्गौलाघात, दृष्टिघात र अङ्गघात हुने सम्भावना एकदमै बढेर जान्छ । यस कारण रोगको गंभिरतालाई बुझ्नु आवश्यक छ ।

स्वामी रामदेवजी महाराजले सिकाउनु भए अनुसार लौका, काक्रो र गोलभेडाको रस पिएर अनि दैनिक कपालभाती प्राणायाम गरेर मात्र मधुमेह नियन्त्रणमा नआउन सक्छ ।यसकारण अन्य उपायहरुद्वारा जसरी भए पनि ब्लड सुगर नियन्त्रणमा ल्याउनै पर्छ ।

मुख बारेर, व्यायाम गरेर, धेरै थरिका चक्कीहरु खाएर पनि चिनीरोग नियन्त्रणमा आएन भने इन्सूलिन सूई लगाउनु पर्दछ । यस्तै गरि ३० वर्ष भन्दा कम उमेर मै मधुमेह देखियो अथवा मधुमेहका कारण आँखा र मिर्गौलालाई धक्का पर्न थाल्यो भने तुरुन्त चक्की औषधीको सट्टा इन्सूलिन लगाउनु पर्दछ ।

इन्सूलिन सूईले अङ्गहरु बिग्रिने क्रमलाई रोक्दछ र रगतमा चिनीको मात्रालाई राम्रोसँग नियन्त्रण गर्न सक्दछ । यस कारण इन्सूलिन लगाउन डराउनु पर्दैन । धेरै जसो बिरामीहरु इन्सूलिन लगाउन मान्दैनन् । उनीहरु सोच्दछन् कि यो अन्तिम अवस्था (लास्ट स्टेज) हो । यो भ्रम हो । आवश्यक देखिएमा शुरुकै अवस्थामा पनि इन्सूलिन लगाउनु पर्ने हुन्छ । यसको निर्णय चिकित्सकले गर्ने छन् ।

मधुमेहका घातक परिणामहरुबाट बच्न मधुमेह लाग्नै नदिने तर्फ जनचेतना जगाउने कार्यमा सबैले आ–आफ्नो क्षेत्रबाट योगदान दिनु पर्छ भन्ने म ठान्दछु । यो अस्वस्थ जीवनशैलीले निम्त्याएको रोग हुनाले जीवनशैलीलाई स्वस्थ बनाउने तर्फ सबै जना लाग्नु पर्दछ ।

मधुमेहका लक्षणहरु

  • प्यास धेरै लाग्ने
  • पिसाब बढी हुने
  • भोक बढ्ने
  • शरीर दुब्लाउने
  • आँखा धमिलो हुने
  • बराबर छातीको इन्फेक्सन हुने
  • छालामा पिलो आइराख्ने
  • हातखुट्टा झमझम गर्ने
  • पिसाब फरेको ठाउँमा कमिला लाग्ने

मधुमेहको प्रकार :

१. इन्सुलिनमा निर्भर रहने

  •  १० प्रतिशत मधुमेहका रोगीमा यो पाइन्छ ।
  •  रोगीको उमेर ४० वर्षभन्दा कम हुन्छ ।
  •  दुब्ला–पातलामा भेटिन्छ ।
  • उपचार गर्न इन्सुलिन सुई लिनै पर्छ ।

२. इन्सुलिनमा निर्भर नरहने 

  • ९० प्रतिशत मधुमेहको रोगीमा पाइन्छ ।
  • रोगीको उमेर ४० वर्षभन्दा बढी हुन्छ ।
  • मोटाघाटामा बढी भेटिन्छ ।
  • अस्वस्थकर जीवनशैलीबाट उत्पन्न हुन्छ ।
  • उपचार गर्न नियन्त्रित आहार, ब्लड सुगर घटाउने चक्कीहरु र कुनै–कुनै अवस्थामा मात्र इन्सुलिनको आवश्यकता पर्छ ।

३. गर्भावस्थाको मधुमेह (जेस्टेसनल)

  • गर्भावस्थामा देखिन्छ तर बच्चा जन्माएपछि ठीक हुन्छ ।
  • प्रतिशत गर्भवती महिलामा भेटिन्छ ।
  • उपचारमा इन्सुलिन आवश्यक पर्छ ।
  • भविष्यमा दोस्रो प्रकारको मधुमेहद्वारा पीडित हुने प्रबल सम्भावना रहन्छ ।

मधुमेहका खतरनाक परिणामहरु

  • स्ट्रोक (पक्षघात)
  • हर्ट अट्याक (हृदयघात)
  • किड्नी फेलियर (मिर्गौलाघात)
  • अन्धोपन (दृष्टिघात)
  • हातखुट्टाको कुनै भाग कुहिएर काट्नुपर्ने स्थिति (अङ्गघात)

मधुमेहीले ध्यान पुर्‍याउनुपर्ने कुराहरुः

  • खाना, शारीरिक श्रम र औषधिको मात्रा एकदम ठीक तरिकाले सन्तुलित राख्ने ।
  • निश्चितरुपले तोकिएको खाना, तोकिएको मात्रामा (क्यालोरी हिसाब गरेका), तोकिएको समयमा खाने ।
  • शारीरिक श्रम, व्यायाम दैनिकरुपमा निश्चित मात्रामा गर्ने ।
  • धुम्रपान नगर्ने ।
  • शारीरिक तौल ठीक राख्ने ।
  • खानामा व्त बस्ने बानी छाड्ने ।
  • चक्कर लाग्ने, मुटु हल्लिने, चिसो पसिना आउने रगतमा ग्लुकोज ज्यादै कम भएकोले हुन सक्छ । यस्तो अवस्थामा तुरुन्त गुलियो खाद्यपदार्थ खाने । रगतमा ग्लुकोज आवश्यकभन्दा कम भएमा ज्यानको लागि खतरा हुन सक्छ ।
  • प्रत्येक महिना रगतमा ग्लुकोजको मात्रा जाँच्ने । प्रत्येक ६–६ महिनामा मुटु, मिर्गौला, आँखा आदिको परीक्षण गराउने ।
  • करेला, निमको पात, लौकाको रस खाएर अनि योग र प्राणायाम गरेर मात्र मधुमेह ठीक नहुन सक्छ । यसकारण अरुको लहैलहैमा नलागी विशेषज्ञ चिकित्सको सल्लाह अनुसार उपचार गराउने ।

 


Leave a Reply

Your email address will not be published.