नेपाल एनसीडी एलायन्सले तयार पारेको नसर्ने रोग सम्बन्धी रणनीतिक दस्तावेज सरकारलाई हस्तान्तरण

काठमाडौँ, १४ असोज । नसर्ने रोगको जोखिम कम गर्न नेपाल एनसीडी एलायन्सले तयार पारेको पञ्च बर्षीय रणनीतिक दस्तावेज सरकारलाई बुझाइएको छ ।

बिहीबार विश्व मुटु दिवसको अवसरमा आयोजित कार्यक्रममा एलायन्सका अध्यक्ष डा प्रकाशराज रेग्मीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नीति योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेललाई दस्तावेज हस्तान्तरण गरे ।

त्यसअघि एलायन्सका उपाध्यक्ष एवं दस्तावेज मस्यौदा समिति संयोजक डा. अभिनव वैद्यले नसर्ने रोग न्युनिकरणका लागि बनाइएको पञ्च वर्षीय रणनीतिक मस्यौदाको बारेमा प्रस्तुतिकरण सहित जानकारी गराएका थिए ।

‘नसर्ने रोगका सम्वन्धमा सरकारले ल्याएको मल्टीसेक्टरल एक्सन प्लानलाई सहयोग हुने गरी सिभिल सोसाइटीको तर्फबाट यो दस्तावेज तयार भएको हो । यसमा विशेषगरी जनचेतनाका कुरा, नसर्ने रोगको अवस्था र नागरिक समाज तथा गैर सरकारी संस्थाहरुले गर्नु पर्ने कामका बारेमा उल्लेख गरिएको छ,’ अध्यक्ष डा रेग्मीले भने ।

उनले दीगो विकास लक्ष्य प्राप्तीका लागि राज्यले तय गरेका आधार भेट्टाउनका लागि यो दस्तावेज सहयोगी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा मन्त्रालयका सहसचिव डा कृष्णप्रसाद पौडेलले नसर्ने रोगको जोखिम तिव्र गतिमा बढी रहेको बताउँदे यसको भार कम गर्न सरकारले मल्टीसेक्टरल एक्सन प्लान ल्याएको बताउँदै एनसीडी एलायन्सले तयार गरी उपलव्ध गराएको नयाँ दस्तावेजले सरकारको योजना कार्यान्वयनमा थप सघाउ पुग्ने बताए । उनले नेपालमा सरुवा रोगको जोखिम कम भएपनि खतरा टरिनसकेको र यसले बेला बखतमा दुख दिई रहेको भए पनि डरलाग्दो गरी नसर्ने रोगको भार थपिदै गएको उल्लेख गरे ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा केदार मरहठ्ठाले नसर्ने रोग नियन्त्रणका लागि अब बहुपक्षीय सहयोग र समन्वयको आवश्यक रहेको भन्दै त्यसका लागि यो दस्तावेज एउटा कडी हुन सक्ने बताए ।

रोटरी क्लव अफ पाटन र नेपाल एनसीडी एलायन्सको सहकार्यमा भएको कार्यक्रममा बरिष्ठ मुटुरोग विशेषज्ञ समेत रहेका डा रेग्मीले मुटुरोगको जोखिम कम गर्ने उपायका बारेमा प्रस्तुति दिएका थिए ।

रोटरी क्लव अफ पाटनका अध्यक्ष शिवकुमार प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा एलायन्सका तर्फबाट सह अध्यक्ष रहेका शान्तलाल मुल्मीले स्वागत गरेका थिए । कार्यक्रम रोटरियन खड्ग सिंह विष्टले सञ्चालन गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *