नर्भिकले भाडाको जग्गामा बनाएको संरचना तत्काल भत्काउन नपर्ने गरी सर्बोच्चले दियो अल्पकालीन अन्तरिम आदेश

सर्बोच्चको निर्णयप्रति बालेनको कटाक्ष
208
Shares

काठमाडौँ, २५ साउन । सर्बोच्च अदालतले नर्भिक अस्पतालले भाडामा लिएको सरकारी जग्गामा रहेको संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

काठमाडौं महानगरपालिकाले गत सोमबार २४ घण्टाभित्र उक्त संरचना हटाउन निर्देशन दिएको थियो । तर मंगलबार अस्पताल र काठमाडौं महानगरबीच प्राविधिकले तोकेको समय भित्र संरचना भत्काउने सहमति भएको थियो ।

तर नर्भिकले सोही दिन संरचना भत्काउने महानगरको निर्णय विरुद्ध सर्बोच्च अदालतमा रिट दायर गर्दै कार्यान्वयन अन्तरिम आदेश माग गरेको थियो । नर्भिकले दायर गरेको रिटमा काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालय काठमाडौं , काठमाडौं महानगरपालिकाको कार्यालय काठमाडौंका प्रमुख र काठमाडौं महानगरपालिका शहरी व्यवस्थापन विभाग काठमाडौंलाई बिपक्षी बनाईएको थियो ।

उक्त रिटमा बुधबार सुनुवाई भयो । न्यायाधीश मनोजकुमार शर्माको इजलासमा भएको सुनुवाईमा झण्डै झण्डै नर्भिकले माग गरे जसरी नै आदेश आयो । उक्त इजलासले तत्काल संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिनुका साथै आगामी सोमबार अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

सर्वोच्चले नर्भिकको संरचना भत्काउन खोज्नुको कारणबारे लिखित जवाफ पनि माग गरेको छ । नर्भिकले भाडामा लिएको १ रोपनी ८ आना जग्गामा नक्सापास नगरी संरचना बनाएपछि महानगरपालिकाले त्यसलाई भत्काउन आग्रह गरेको हो ।

आदेश प्रति बालेनको व्यंग
यसैबीच सर्बोच्चले नर्भिकले बनाएको संरचना नभत्काउन भन्दै महानगरविरुद्ध अल्पकालीन आदेश जारी गरेपछि मेयर बालेन शाह असन्तुष्ट देखिएका छन् । उनले सर्बोच्चले दिएको आदेशप्रति कटाक्ष गर्दै असन्तुष्ट जनाएका छन् । उनले भनेका छन्, ‘नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ ।’

 

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *