मनाङ पूर्ण खोप सुनिश्चितता घोषणा

64
Shares

मनाङ, २९ असार । मनाङलाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको छ। जिल्लाका लक्षित बालबालिकालाई सबै खोप पूरा गरिएपछि मनाङलाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको हो ।

जिल्लाका १६ महिनादेखि २३ महिनासम्मका ७२० बालबालिकालाई सबै खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यले जानकारी दिए। तोकिएको उमेर समूहका बालबालिकाले खोप लगाउन छुटेकालाई समेत लगाइएपछि मनाङलाई पूर्ण खोप सुनिश्चित् घोषणा गरिएको उनले बताए ।

जिल्ला समन्वय समितिका प्रमुख चीन घलेले घोषणा मात्रै ठूलो कुरा नभएकाले यसको कार्यान्वयन पक्षलाई ध्यान दिनुपर्नेमा जोड दिए। “पूर्ण खोप सुनिश्चितता अभियानलाई दिगोपना कायम राख्नका लागि मनाङ नै प्रतिबद्ध हुनुपर्छ”, घलेले भने ।

सबै पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख आचार्यले बताए। उनका अनुसार यसअघि चार पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको थियो। नासों गाउँपालिका, चामे गाउँपालिका, मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

“सबै प्रक्रिया पूरा गरेपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हौँ, बालबालिकाले पूर्ण खोप पाए÷नपाएको बारेमा अनुगमन पश्चात् मात्रै घोषणा गर्ने प्रावधान छ, सोही अनुरुप हिमाली जिल्ला मनाङलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो”, उनले भने ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले सुगम क्षेत्रका जिल्लाले नै खोप अभियान सञ्चालन गरिरहेका अवस्थामा पनि पूर्ण खोप सुनिश्चित घोषणा गर्न नसकिरहेको बेलामा मनाङलाई पहिले नै घोषित गराउन सफल भएको बताए ।

बालबालिकालाई कोभिड–१९, टाइफाइड, विभिन्न रोगको सङ्क्रमण नियन्त्रण गर्न सहयोग पुग्ने खोप पूर्ण मात्रामा लगाइसकिएको स्वास्थ्य कार्यालयले जनाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *