उच्च रक्तचाप देखिनासाथ औषधि खान जरुरी छ ? एक पटक सुरु गरेपछि छोडन मिल्छ कि मिल्दैन ?

मुटुबाट रक्तसंचार हुने बेलामा रक्तनली (आर्टरी)को भित्तामा पर्ने दवावलाई रक्तचाप (व्लडप्रेसर) भनिन्छ । रक्तचापलाई मिलिमिटर अफ मर्करीमा नापिन्छ । माथिको व्लडप्रेसरलाई सिस्टोलिक र तलको व्लडप्रेसरलाई डायस्टोलिक भनिन्छ । सिस्टोलिक र डायस्टोलिक दुबै शरीरको लागि उत्तिकै महत्वपूर्ण हुन्छ ।

सामान्यत रक्तचाप १२०/८० भन्दा कम हुनुपर्छ । उच्चरक्तचाप भन्नाले माथिको १४० भन्दा बढी र तलको ९० वा सो भन्दा बढी भएको अवस्थालाई भनिन्छ । माथिको १२० देखि १३९ र तलको ८० देखि ८९ सम्मको रक्तचापलाई प्रि हाइपरटेन्सन भनिन्छ । यो उच्च रक्तचापको समस्या हुनुभन्दा अगाडीको अवस्था हो । यो अवस्थामा हुने व्यक्तिलाई उच्च रक्तचापको सम्भावना बढी हुन्छ ।

– डा. ओममूर्ति अनिल (बरिष्ठ मुटुरोग विशेषज्ञ)

उच्च रक्तचाप देखिने वित्तिकै औषधि खान जरुरी छ ?
शरीरको अंगहरुमा रक्तचापको असर परिसकेको छ भने औषधि खान अनिवार्य हुन्छ । हिजो आज प्रयोग गरिने अधिकांश औषधिहरुको खासै साइड इफेक्ट हुँदैन । औषधिको प्रयोगले उच्च रक्तचापको प्रकोपबाट महत्वपूर्ण अंगहरुलाई बचाउँछ । त्यसैले औषधि नखाने मानसिकता गलत हो ।

मेरो बिचारमा यदि रक्तचाप १४० /९० भन्दा बढी छ र जीवनशैलीमा परिवर्तन गरेपछि पनि रक्तचाप कम भएको छैन भने चिकित्सकको सल्लाह अनुसार निर्धक्क संग औषधि खान सुरु गर्नु पर्छ । औषधि खाँदा अलिकति आर्थिक नोक्सान त हुन्छ तर अमूल्य स्वास्थ्यलाभ पनि हुन्छ । पहिलो पटकमै रक्तचाप नाम गर्दा अत्यन्त धेरै देखियो भने पनि औषधि खानुपर्ने हुनसक्छ ।

एकचोटी औषधिको प्रयोग गर्न थालेपछि छोडन मिल्छ कि मिल्दैन ?
जीवनशैलीमा परिवर्तन गरेपछि रक्तचापमा कमी आउन सक्छ । यसको फलस्वरुप औषधिको मात्रा घटाउन पर्ने हुनसक्छ । यदि तपाईँलाई मोटोपना, धूमपान, मदिराको सेवन, शारीरिक गतिविधिमा कमी जस्ता कारणहरु छन् भने यसको नियन्त्रण गरेपछि रक्तचाप घटन सक्छ ।

कसै कसैको रक्तचाप घटेर औषधि बन्दै गर्नुपर्ने अवस्था पनि आउन सक्छ । अर्थात रक्तचापका कारणहरुलाइ नियन्त्रण गरेमा औषधिको मात्रा घटाएर बन्दै गर्न मिल्ने पनि हुनसक्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *