डब्लुएचओका महानिर्देशक डा. टेड्रोसको टोली तीन दिने भ्रमणका लागि आज नेपाल आउँदै

के छ उनको तीन दिने कार्य तालिका ?

काठमाडौँ, ८ बैशाख । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसस तीन दिने नेपाल भ्रमणका लाग आज काठमाडौँ आउँदैछन् । भारतको एक दिने भ्रमण सकेर उनी आज नयाँ दिल्लीबाट काठमाडौं आउन लागेका हुन् ।

नेपाल आउँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्का र स्वास्थ्य मन्त्री विरोध खतिवडासंग भेटवार्ता गर्नेछन् । यसैगरी उनले भ्रमण अवधीमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, टाइफाइडविरुद्धको खोप अभियान र पाटन दरवार स्क्वाएर क्षेत्रको अवलोकन भ्रमण गर्नेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार आज डा टेड्रोससंगै डव्लुएचओको दक्षिणपूर्वी एशियाको क्षेत्रीय निर्देशक डा पुनम क्षेत्रपाल सिंह, संगठनको संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुसंगको सहकार्य र सहयोग प्रणाली विभागका निर्देशक डा शम्भु आचार्य पनि काठमाडौँ आउँदै छन् ।

कस्तो छ भ्रमण तालिका ?
राजकीय भ्रमणमा पहिलो पटक नेपाल आउन लागेका डव्लुएचओका महानिर्देशक डा टेड्रोस र उनको टोली नयाँ दिल्लीबाट इन्डिगो एयर चडेर काठमाडौँ आउने छन् । उनीहरु सवार जहाज १२ २५ बजे काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ । त्यहाँ उनलाई स्वागत गर्न परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल, स्वास्थ्य मन्त्रालयका सहसचिव डा संगिता मिश्रा र डव्लुएचओ नेपाल प्रमुख डा राजेश सम्भाजीराव पाण्डव विमानस्थलमा पुग्ने छन् ।

स्वागतका लागि विमानस्थल पुगेको नेपाली टोलीले सिधै डा टेड्रोसको टोलीलाई सिधै म्यारियट होटल ल्याउने छ ।

दिउसो १ देखि साढे १ बजेसम्म हलुका खाजा खानेछन् । २ : ३० बजे टोली रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तर्फ लाग्नेछ । दिउसो ३ बजे देखि ३ ५० बजेसम्म मन्त्रालयको हलमा मिटिङ हुने छ । सो मिटिङमा मन्त्री विरोध खतिवडा, राज्यमन्त्री भवानीप्रसाद खापुङ, सचिवहरु, प्रमुख विशेषज्ञहरु, विभागका प्रमुखहरु, परराष्ट्रमन्त्रालयका अधिकारीहरु, र डव्लुएचओको ६ जनाको टिम मात्रै सहभागी हुनेछन् ।
स्वास्थ्य मन्त्रालयबाट ३ ५० मा मिटिङ सकेर डा टेड्रोसको टोली सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय जाने छ । त्यहाँ ४ बजे देखि ४ ३० बजेसम्म परराष्ट्रमन्त्री डा नारायण खड्का र उनको टोलीसंग छलफल हुनेछ ।

त्यसपछि टोली सिधै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासंग भेट गर्न जानेछ । स्वास्थ्य, परराष्ट्र र नेपालस्थित डव्लुएचओका प्रमुख सहितको टोली पनि सो भेटमा सहभागी हुनेछ । सो भेटघाट अपरान्ह ४ ४५ देखि ५ १५ बजेसम्म हुनेछ ।

त्यसपछि ५ ३० बजे टोली पुन म्यारियट होटल फर्कने छ ।

बेलुका ७ बजे डा टेड्रोसको टोली बत्तिसपुतलीस्थित होटल द्धारिकाजमा स्वास्थ्यमन्त्रालयको तर्फबाट आयोजना हुने रात्रीभोजमा सहभागी हुन त्यसतर्फ लाग्नेछ ।

भ्रमणको दोस्रो दिन  भोली  विहान १० बजे देखि १० :२० बजेसम्म डा टेड्रोसको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटवार्ता गर्नेछन । त्यस लगत्तै टोली राष्ट्रपति कार्यालय प्रस्थान गर्ने छ । त्यहाँ विहान १० : ३० देखि १०: ५० सम्म राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेटवार्ता हुनेछ ।

त्यसपछि टोली सिधै पाटन दरबार स्क्वाएर जानेछ । त्यहाँबाट टाइफाइड खोप कार्यक्रमको अवलोकन समेत गर्नेछ । १२ बजे देखि २ बजेसम्म डव्लुएचओ नेपालको अफिसमा लञ्च हुनेछ ।

दिउसो २ बजे टोली टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला हेर्न जानेछ । ३ बजे देखि ५ बजेसम्म हनुमान ढोका वा पाटन दरबार स्क्वाएर हेर्ने कार्यक्रम छ । ५ बजे भने टोली होटल म्यारियट फर्कने छ ।

साढे ५ बजे देखि ७ बजेसम्म स्वास्थ्य मन्त्रालय, डब्लुएचओ, युएन एजेन्सीका अधिकारीहरुसंग अन्तरक्रिया हुनेछ ।
१० गते विहान भने उनी सिधै जेनेभा प्रस्थान गर्नेछन् ।

भारतको नयाँ दिल्लीस्थित इन्दिरागान्धी अन्तराष्ट्रिय विमानस्थलबाट इन्डिगो एयर चडेर आज मध्यान्न १२ २५ बजे काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रय विमानस्थलमा अव अवतरण हुँदैछ ।

 

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *