मानवअंग सहित पक्राउ परेका एमबीबीएसका विद्यार्थीलाई छाडिदिन सशस्त्रलाई बीपी प्रतिष्ठानको अनुरोध पत्र

भन्यो - 'ती मेडिकल विद्यार्थी अध्ययनका लागि चाहिने सामग्री लिएर विशेष कामले घर गएका हुन्'

काठमाडौँ, ३० चैत । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले मानवअंगसहित पक्राउ परेका आफ्नो विद्यार्थी आदित्य सिन्हालाई रिहा गरि घर जान अनुमति दिन सशस्त्र प्रहरीको इलाका कार्यालय मोरङलाई आग्रह गरेको छ ।

प्रतिष्ठानले मंगलबार राती सशस्त्रलाई पत्र लेख्दै सिन्हासंग भेटिएको भनिएको मानवअंग अध्ययनका क्रममा आवश्यक पर्ने सामग्री भएको स्पष्ट पारेको छ । सशस्त्रको टोलीले मंगलबार विराटनगरको रानीस्थित मुख्य भन्सार नाकाबाट सिन्हालाई मानवअंग सहित पक्राउ गरेको थियो ।

‘भारतको बिहारका विद्यार्थी सिन्हा विशेष कारणवस घर जाने क्रममा आफ्नो अध्ययनमा आवश्यक पर्ने सामग्रीहरु सहित लिएर जाँदै गरेको अवसस्थामा रानी बोर्डर एरियामा चेक जाँचको क्रममा हिरासतमा रहेको जानकारी प्राप्त भएको हुँदा निज यस प्रतिष्ठानको विद्यार्थी भएको र चिकित्साशास्त्र अध्ययन्मा पुराना बोन सेट पनि आवश्यकता पर्ने हुँदा निजलाई आवश्यक सहयोग गरी घर जान अनुमति दिनुहुन अनुरोध छ,’ प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशंकर साहले सशस्त्रलाई लेखेको पत्रमा उल्लेख छ ।

यसअघि  सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणका गणपति राजकुमार लामिछानेले सिन्हाबाट १ थान मानव खप्पर, खुट्टाको हड्डी ३ थान, हातको हड्डी ६ वटा, करङ ७ वटा, बंगाराको हड्डी १ वटा, काँधको हड्डी २ वटा, घाँटीको हड्डी १ वटा, हिपको हड्डी १ वटा, ढाडको हड्डी ८ वटा, औलाको हड्डी ८ वटा र कुरकुच्चाको हड्डी ८ वटा बरामद गरिएको बताएका थिए ।

रिक्सामा सवार सिन्हाले कार्टुनभित्र उक्त हड्डी राखेर ल्याएके सशस्त्रले बताएको थियो ।

प्रतिष्ठानले सिन्हा सन् २०१६ मा भर्ना भएका एमबीबीएस अन्तिम वर्षका विद्यार्थी भएको स्पष्ट पारेको छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *