बागलुङका सबै नगरमा आँखा उपचारको पहुँच

बागलुङ, २५ चैत । जिल्लाका सबै शहरी क्षेत्रमा आँखा उपचारको पहुँच पुर्याइएको छ। जिल्लाका चारवटै नगरपालिकाको केन्द्रमा आँखा उपचार केन्द्र स्थापना भएसँगै साना शहरी क्षेत्रमा आँखा उपचारको व्यवस्था भएको हो ।

सदरमुकाममा धौलागिरि आँखा अस्पताल र बाँकी तीन नगरपालिकाको आँखा उपचार केन्द्रमार्फत सेवा प्रवाह भइरहेको नेपाल नेत्रज्योति सङ्घका जिल्लाअध्यक्ष भरत पुरीले बताए।

गलकोटको हटिया बजार र ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा यसअघि नै आँखा उपचार केन्द्र स्थापना भइसकेकामा जैमिनीमा आँखा उपचार केन्द्र स्थापना गरिएको हो ।

सङ्घले पोखरास्थित हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोग र जैमिनीको व्यवस्थापनमा स्थापना गरिएको उक्त केन्द्र नगरप्रमुख इन्द्रराज पौडेलले बिहीबार उद्घाटन गरे। तत्कालका लागि आँखाको जाँच तथा उपचारका लागि आवश्यक रु १४ लाख मूल्य बराबरका उपकरण हिमालयन आँखा अस्पतालले सहयोग गरेको छ ।

सङ्घका केन्द्रीय सचिव हरिप्रसाद शर्माले जिल्लाका सबै स्थानीय तहमा आँखा उपचार केन्द्र स्थापना गर्ने लक्ष्य रहेको बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *