शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गर्‍यो पछिल्लो दुई दिनमा दुई जनाको कलेजो प्रत्यारोपण

कार्यकारी निर्देशक डा. श्रेष्ठ भन्छन्, 'अब हरेक महिना २ जनाको कलेजो प्रत्यारोपण गर्छौं'
508
Shares
कलेजो प्रत्यारोपण गर्दै चिकित्सकको टोली

काठमाडौँ, २२ चैत । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पछिल्लो दूई दिनमा लगातार दुई जनाको कलेजो प्रत्यारोपण भएको छ । केन्द्रमा गत आईतबार र सोमबार (अस्ती र हिजो) दुई जनाको कलेजो प्रत्यारोपण भएको हो ।

त्यसो त यो केन्द्रले नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपणको सुरुवात गरेको थियो । २०७२ सालको मंसिरमा नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण गराएको यो केन्द्रले हाल सम्म ८ जनाको कलेजो प्रत्यारोपण गरेको छ । त्यसमध्ये ७ जना स्वस्थ्य व्यक्तिबाट र १ जना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट कलेजो दान भएको थियो ।

उक्त शल्यक्रियामा नेपाली टोलीको नेतृत्व प्रत्यारोपणविद डा पुकार चन्द्र श्रेष्ठले गरेका थिए भने भारतको दिल्ली स्थित म्याक्स हस्पिटलका टोलिको नेतृत्व डा शलिन अग्रवालले गरेका थिए ।

प्रत्यारोपण को कसको भयो ?
पछिल्लो दुई दिनमा दुई जना पुरुषको कलेजो प्रत्यारोपण भएको हो । कार्यकारी निर्देशक समेत रहेका डा श्रेष्ठका अनुसार पहिलो दिन काठमाडौँ कीर्तिपुरका ४६ वर्षीया ईच्छाकुमार महर्जनको कलेजो प्रत्यारोपण भएको हो । महर्जनलाई उनकी ४३ वर्षीया श्रीमती ज्ञानी शोभा महर्जनले कलेजो दान गरेकी हुन् ।

यस्तै दोस्रो दिन झापाका ५१ वर्षिय रामचन्द्र ओलीको कलेजो प्रत्यारोपण गरिएको हो । ओलीलाई उनीकी १९ वर्षकी छोरी सुमित्रा ओलीले कलेजो दान दिएकी हुन् ।

डा श्रेष्ठले हाल प्रत्यारोपण गरिएका दुबै जना कलेजो प्रत्यारोपित तथा अंगदाताहरुको स्वास्थ्य सामान्य रहेको बताए ।

प्रत्यारोपणको टोलीमा को को थिए ?

प्रत्यारोपणपछि सामुहिक तस्बिर खिचाउँदै चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली

कलेजो प्रत्यारोपणका लागि खटिएको नेपाली टोलीहरुको नेतृत्व डा श्रेष्ठले गरेका थिए । सो टोलीमा सर्जनहरु डा. प्रदेज सापकोटा, डा क्षेतेन योञ्जन तामाङ्ग, डा अनिषा तिवारी, डा ललित कुमार दास, कलेजो फिजिसियन डा कर्ण राजवंशी, एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा आरती राई, डा निभा श्रेष्ठ, डा रेखा श्रेष्ठ, डा रश्मीत श्रेष्ठ, डा शिवसुन्दर राजचल, डा सुमन थिए भने रेडियोलोजि विभागको नेतृत्व डा कृष्ण बुढाथोकीले गरेको थिए । त्यस्तै कोपिला दाहालको नेतृत्वको नर्सिङ्ग टोलिमा बबिता लवजु, अनिता कार्की, लगायतले सघाएका थिए ।

जटिल शल्यक्रिको लागि अत्याधुनिक सुविधाले सम्पन्न यस केन्दमा न्यूनतम शुल्कमै कलेजो प्रत्यारोपण हुने गरेको डा श्रेष्ठ बताउँछन् । उनले आगामी महिना देखि मासिक २ जनाको कलेजो प्रत्यारोपण नियमित गर्ने तयारी गरेको जानकारी दिए ।

सेवाको उपलब्धता सँगै देशमा मिर्गौला प्रत्यारोपण निःशुल्क गरिए झैं कलेजो प्रत्यारोपणमा पनि सहुलियत प्राप्त भएमा यस सेवाबाट धेरै जना कलेजो फेल भएका व्यक्तिहरु लाभान्वित हुने विश्वास गरिएको त्यस केन्द्रले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *