सशस्त्र प्रहरीद्वारा बाढी प्रभावित ४५ सयभन्दा बढीको उपचार

0
Shares

काठमाडौँ, ११ असोज । सशस्त्र प्रहरी बल, नेपालले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रका ४५ सयभन्दा बढीको स्वास्थ्य उपचार गरेको छ।

गत भदौ १० गतेदेखि नेपाल एपीएफ अस्पताल बलम्बुबाट दक्ष चिकित्सकसहितको टोली नुवाकोटमा खटिएर स्वास्थ्य सेवा प्रदान गर्दै आएको सशस्त्र प्रहरीले जनाएको छ।

टोलीले नुवाकोट आयुर्वेद चिकित्सालय, क्रियापुत्री भवन, केन्द्रीय कारागार नुवाकोट, सेतीदेवी आधारभूत विद्यालय, क्षेत्रपाल आधारभूत विद्यालय, रणभुवनेश्वरी माध्यमिक विद्यालय, नुवाकोट स्वास्थ्य चौकीलगायतका स्थानमा हेल्थ क्याम्प सञ्चालन गरी बाढी प्रभावितलाई स्वास्थ्य सेवा दिएको हो।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक डा.शैलेन्द्रकुमार दुवाल श्रेष्ठको कमान्डमा स्वास्थ्य टोली परिचालन गरिएको थियो।

टोलीमा प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक डा.रोशन पराजुली र प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक डा.गंगाराम खत्रीलगायत चिकित्सक तथा स्वास्थ्यकर्मी खटिएका थिए। हाल प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक डा.शोभा डंगोल सो क्षेत्रमा निरन्तर खटिइरहेकी छन्।

स्वास्थ्य टोलीले विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकामा रहेका २५ वटा होल्डिङ सेन्टरमा रहेका बाढी प्रभावितको समेत स्वास्थ्य परीक्षण गरेको थापाले बताए।

यसैगरी,नुवाकोटस्थित केन्द्रीय कारागारमा फैलन सक्ने सम्भावित सरुवा रोग तथा अन्य स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै चिकित्सकसहितको टोलीले विशेष स्वास्थ्य परीक्षण गरेको थियो। टोलीले ४ सय २ जना कैदीबन्दीलाई आवश्यक स्वास्थ्यसम्बन्धी परामर्शसमेत दिएको सशस्त्र प्रहरीले जनाएको छ।

बाढी प्रभावितको उपचारमा मात्र सीमित नभई विपद्पछि फैलन सक्ने महामारी नियन्त्रण तथा वातावरणीय स्वच्छता कायम गर्नसमेत स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो।

टोलीले नुवाकोटको देवीघाट बजार क्षेत्र, देवीघाट माध्यमिक विद्यालय परिसर र केन्द्रीय कारागार नुवाकोट क्षेत्रमा किटनाशक औषधि छरेको थियो।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *