स्वास्थ्य बीमाबाट आफ्नो उपचारमा कति खर्च भयो ? अब मोबाईलमै हेर्न सकिने
काठमाडौँ, २१ चैत । स्वास्थ्य बीमा गराएका नागरिकले अस्पतालमा गएर उपचार गर्दा कति खर्च भयो भन्ने जानकारी अब आफ्नै मोबाईलबाट पाउने भएका छन् । स्वास्थ्य बीमा बोर्डले प्रयोगमा ल्याउन लागेको मोबाईल एप्लिकेसनको माध्यमबाट बिमितले सो जानकारी पाउने पाउने भएका हुन् ।
बीमा बोर्डले आफ्नो छैटौँ बार्षिकोत्सवको अवसरमा आगामी २५ चैत देखि मोबाईल एप्लिकेशन प्रयोगमा ल्याउँदै छ ।
‘अब बिरामीले अस्पतालमा उपचार गरेर बाहिर निस्कँदा आफ्नो मोवाइलमा कति पैसा उपचारमा खर्च भएछ भनेर हेर्न सक्छ । अर्थात अस्पतालले उपचार गरेवापत बीमा बोर्डसंग कति पैसा दावी गरेछ भन्ने जानकारी पाउँछ । यसले जनतालाई पनि सहज हुने र दावी रकममा पनि पारदर्शीता कायम हुने विश्वास छ,’ बोर्डका सूचना अधिकारी सोभियत रिजालले भने ।
उनले एप्समा के के उपचार भयो ? त्यसमा कति खर्च भयो ? अब कति रकम बाँकी छ भन्नेबारेका सबै विवरण सहज ढंगले थाहा हुने बताए । यस्तै नविकरण गर्ने बेलामा सूचना आउने, बोर्डका अन्य सूचना र योजनाहरु सहज ढंगले प्राप्त हुने बताए ।
विसं २०७२ चैत २५ देखि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले ७७ वटै जिल्लामा सुरु भएको छ । अहिले प्रति परिवार ( पाँच जना) ले बार्षिक ३ हजार ५०० रुपैयाँ रकम तिर्दा १ लाख रुपैयाँ सम्मको उपचार लिन सकिन्छ ।
सम्पर्क इमेल : [email protected]