स्वास्थ्य मन्त्रीको टोली र मिर्गौला प्रत्यारोपित टोलीबीचको फुटवल प्रतियोगिता ३-३ गोलको बराबरीमा

काठमाडौँ, २६ फागुन ।  स्वास्थ्य मन्त्री विरोध खतिवडाले नेतृत्व गरेको उच्च सरकारी पदाधिकारी, चिकित्सक कलाकार तथा पत्रकार सम्मिलित टोली र झमक श्रेष्ठले नेतृत्व गरेको अंग प्रत्यारोपित टोलीबीच भएको मैत्रीपूर्ण फुटवल खेल ३ – ३ गोलको बराबरीमा सकिएको छ ।

विश्व मिर्गौला दिवसको अवसरमा आज दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा दुबै टोलीले आक्रामक सुरुवात गरेका थिए । यद्धपी निर्धारित ९० को समयमा तीन तीन गोल भई बराबरीमा रोकिएको थियो ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको आयोजना तथा अंग प्रत्यारोपण समाज नेपाल र स्वास्थ्य अभियान नेपालको सह आयोजनामा भएको खेलामा शहरी विकास मन्त्री रामकुमारी झाँक्री, पूर्व मुख्य सचिव लिलामणि पौडेल, स्वास्थ्य सचिव देवकुमारी गुरागाईं, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनी, प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठ सहित बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य लगायत सहभागि थिए ।

फुटवल लगत्तै रंगशालाकै कभर्ड हलमा मिर्गौलाबारे अन्तरक्रिया कार्यक्रम कार्यक्रम राखिएको थियो ।

सो अवसरमा बोल्दै स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले खानपान जीवनशैलीका कारण मिर्गौला रोगको समस्या नियन्त्रणमा आउन नसकेको भन्दै यस तर्फ अब सबैको ध्यान जानुपर्ने बताए । उनले सरकारले मिर्गौलाका बिरामीका लागि आर्थिक तथा कानूनी रुपबाट सहयोग नै गरेको भन्दै थप आवश्यकता परेका कुराहरुलाई थप छलफलबाट टुंग्याउन सकिने बताए ।

कार्यक्रममा प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले मिर्गौला उपचारमा सरकारको राम्रो सहयोग भएको भन्दै प्रशंसा गरे । उनले मिर्गौलाका बिरामीका लागि डायलासिस र प्रत्यारोपण निशुल्क गरिएको भन्दै डायलासिसका लागि लागि प्रत्येक वर्ष एक जना व्यक्तिका लागि साढे २ लाख रुपैयाँ र प्रत्यारोपणमा ५ लाख रुपैयाँ सरकारले खर्च गर्ने बताए ।

 

पूर्व मुख्य सचिव लिलामणि पौडेलले मिर्गौला लगायतका अंग फेल भएका व्यक्तिका लागि अंगदान गर्नु महान काम भएको भन्दै अब यसबारेमा जनचेतना जगाउन आवश्यक रहेको बताए । उनले अंगदान कार्यक्रममा डा श्रेष्ठले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे ।

कार्यक्रममा स्वास्थ्य अभियान नेपालका अध्यक्ष दीपकप्रसाद दाहालले अंगदानको महत्वको बारेमा चर्चा गर्दै मिर्गौला प्रत्यारोपणका लागि नेपाल सक्षम रहेको आफूले पाएको बताए । उनले राज्यको ध्यान अव जनचेतनामा र रोकथाममा केन्द्रीत हुनुपर्ने बताए । उनले विद्यालयहरुले बर्षको एक पटक विद्यार्थीहरुको मिर्गौला जाँच गर्ने अभियान ल्याउनुपर्ने बताए ।

कार्यक्रममा डा कल्पनाकुमारी श्रेष्ठले मिर्गौला रोग र बच्नका लागि अपनाउनुपर्ने सावधानीका उपायका बारेमा बोलेकी थिईन । कार्यक्रममा मिर्गौला प्रत्यारोपित व्यक्तिहरुले समेत आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा विशिष्ठ व्यक्तित्वहरुले अंगदान गर्ने घोषणा गरेका थिए । यस्तै स्वास्थ्य मन्त्री, मूख्यसचिव, स्वास्थ्य सचिव लगायत अन्य विशिष्ठ व्यक्तित्वहरुलाई अंगदाना कार्ड समेत वितरण गरिएको थियो ।

स्थापनाको नौ वर्ष पुग्दा अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा ८२१ जनाको मिर्गौला प्रत्यारोपण, ६ जना को सफल कलेजो प्रत्यारोपण तथा मस्तिस्क मृत्यु भएको व्यक्तिबाट समेत अंग प्रत्यारोपण गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *