नेपालमै पहिलो पटक शल्यक्रिया विना नै मुटुको भल्भ फेरियो, गंगालाल बन्यो पहिलो अस्पताल

काठमाडौँ, २० फागुन । बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा शल्यक्रिया विना नै मुटुको भल्भ फेरिएको छ । शल्यक्रिया विना नै मुटुको भल्भ फेरिएको देशमै पहिलो पटक भएको अस्पतालले जानकारी दिएको छ ।

शुक्रबार केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा निर्देशक डा चन्द्रमणि अधिकारीले ‘ट्रान्सक्याथेटर इरोटिक भल्भ इम्प्लान्टेशन (टीएभीआई) विधिबाट ८० वर्षीया बृद्ध महिलाको सफलतापूर्वक मुटुको भल्भ फेरिदिएको बताए ।  उनले गत १६ फागुनमा ती महिलाको टीएभीआई विधिबाट भल्भ फेरिदिएको सुनाए । भल्भ फेरिएकी बृद्ध महिला आजै अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

‘हाम्रो टोलीले नेपालमै पहिलो पटक टीएभीआई विधि (जो शल्यक्रिया विना नै भल्भ फेर्ने विधि भनेर परिचित पनि छ)बाट एक जना ८० बर्षीया महिलाको मुटुको भल्भ प्रत्यारोपण गरिदियौँ । आज उहाँ निको भएर अस्पतालबाट डिस्चार्ज समेत भईसक्नु भएको छ,’ उनले भने ।

टीएभीआई विधि सुरुवात गर्ने डा चन्द्रमणिसहितको टोली

के हो टीएभीआई विधि ?
डा अधिकारीका अनुसार शल्यक्रियाविना नै मुटुको भल्भ फेर्ने टीएभीआई विधिमा तिघ्राको धमनी अर्थात फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात क्याथरेटरद्वारा मानव निर्मित भल्भ मुटुभित्र छिराईन्छ र रोग भएको एओर्टिक भल्भको स्थानमा प्रत्यारोपण गरिन्छ ।  यसरी प्रत्यारोपण गरेको भल्भले तुरुन्तै काम गर्ने हुँदा बिरामीलाई छिटो आराम महसुस हुन्छ ।

‘बिरामीलाई बेहोस गरी छाती र मुटु चिरी शल्यक्रिया गर्नु नपर्ने भएकाले यो पद्धतिमा जटिलताको सम्भावना कम हुने र बिरामीलाई छिटो डिस्चार्ज गर्न सकिने हुन्छ,’ उनले भने, ।

शल्यक्रियाको तुलनामा यस पद्धतिको उपचार प्रभावकारी हुनुका साथै मृत्युदर पनि कम भएको विभिन्न अध्ययनले देखाएको उनले बताए ।

सन् २००२ मा यो पद्धति मात्रै पहिलो पटक फ्रान्समा उपचार गरिएको थियो । अन्य विकसित देशहरुमा पनि यो पद्धतिबाट उपचार हुँदै आएको छ । तर, नेपालमा भने यो पद्धतिबाट पहिलो पटक उपचार भएको हो ।

यसअघि यस्तो विधिबाट उपचार गर्न भन्दै नेपालीहरु छिमेकी मुलुक भारत जाने गर्दथे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *