रुस -युक्रेन युद्धको असर

किभस्थित एक प्रसूति अस्पतालको सिईओको बयान-‘हामीले अर्को जीवन जिईरहेका छौँ,’

प्रसूति अस्पतालमा सेवा लिन आएका गर्भवतीहरु

एबीसी न्युज । ‘युद्ध जति चर्कदै गएपनि हामीले आफ्नो सेवा जारी राख्नुको विकल्प छैन् । बरु थप सजकता र संयमता र सावधानी अपनाएर दायित्व निभाउनु पर्छ,’  युक्रेनको पश्चिमी किभमा रहेको एक जिनी प्रसूति अस्पतालका सिईओ डा. भ्यालेरी जुकिन आफ्ना कर्मचारीसंग भने ।

उनले अगाडी थपे,  ‘यस बेला हामी एक ठूलो परिवारजस्तै रहनुपर्छ । र आफ्ना कामलाई निरन्तरता दिनुपर्छ ।’

सो अस्पताल युद्धग्रस्त क्षेत्रबाट मात्रै १० किलोमिटर टाढा छ ।

विगत चार दिन देखि अस्पतालमा चिकित्सक, नर्स, मिडवाईफ र कुकहरु रातभर जागा छन् । कतिपय डाक्टर र नर्सले आफ्ना छोराछोरीलाई पनि अस्पतालमै लिएर आएका छन् ।

डा. जुकिनका अनुसार पछिल्लो केही दिन यता युक्रेनीहरुको जीवनमा नाटकिय रुपमा परिवर्तन भएको छ ।

‘हामीले जीवनमा यस्तो दिन आउला भनेर कहिल्यै पनि कल्पना गरेको थिएनौं । यो केही दिनको अन्तरालमा हामीले अर्को जीवन बाँचिरहेका छौँ जस्तो लाग्छ । नमिठो सपना जस्तो लाग्छ ।’  उनले अगाडी थपे, तपाईँ विना परिवर्तन आफ्नो काम गर्ने ठाँउमा बस्नु पर्छ । विशेष अनुमति विना तपाईँ आफ्नो घर जान सक्नुहुन्न । तपाईँ आफ्नो कारबाट हिड्न सक्नु हुन्न बजार सबै बन्द छन् । किनमेल गर्न पाउनुहुन्न । तपाईँलाई दिन वा रात जुनसुकै बेला सेल्टरमा लैजान सक्छ । यो जीवनको कल्पना बाहिरको अति नै तनावपूर्णस्थिति हो’ उनले राजधानी किभको अवस्था देखिने गरि बेलिबिस्तार लगाए ।

अहिले राजधानी किभ वरपर हिडडुल गर्न पूर्ण रुपमा निषेध गरिएको छ । अस्पतालले प्रहरीसंग मिलेर आफ्ना कामहरु गर्नुपर्छ । अस्पतालले विरामीलाई भर्ना गर्दा वा डिस्चार्ज गर्दा प्रहरीसंग समन्वय गर्नुपर्छ ।

डा. जुकिनले एक साता यता विताएको अस्पताल भित्रको भूमिगत जीवनलाई नौसेनाको डुंगामा काम गर्नेहरुसंग तुलना गरेका छन् । उनले भनेका छन्, ‘डुंगामा सबै चालकदलहरु जहाँजमा सधै बस्छन् । डुंगा शान्तसंग अघि बढेको अवस्थामा कोही केही घण्टाका लागि सुत्छन र कोही काम गर्छन् ।’

उनले अस्पतालको कर्मचारी तथा स्वास्थ्यकर्मीलाई नयाँ तनावको सामना गर्न स्काइप मार्फत भएपनि मनो परामर्शको जरुरी रहेको समेत सुनाए ।

उपचार पछि अस्पतालमै आश्रय लिएर बसेका बच्चा र तिनका अभिभावकहरु

डा. जुकिनले आफ्नो अस्पतालमा शनिवारसम्म चिकित्सक, नर्स र मिडवाइफ गरी करीव ६० जना, २५ जना बिरामी र १७ जना बच्चा रहेको बताए ।

‘अहिले हामीकहाँ आएका बिरामी र बच्चाहरु किभ बाहिरका विभिन्न शहरका छन् । यतिवेला उनीहरुको उपचार त गर्नुपर्छ बाहिरको परिस्थितिलाई हेरेर उनीहरुको थप हेरचाह पनि गर्नुपर्छ ।’

एबिसी न्युजसंगको कुराकानीमा अस्पतालमा रहेका एक विरामीको आफन्तसंग भएको कुराकानी समेत सुनाए । उनले भने,  ‘ मैले हाम्रो अस्पतालमा रहेका एक जना व्यक्तिसंग केही वेर अघि मात्रै कुराकानी गरेको थिएँ ।  जसको श्रीमतीले केही दिन मात्र अस्पतालमा बच्चा जन्माएकी थिईन् । श्रीमती युक्रेनी भएपनि ती व्यक्ति ईटालियन हुन् । उनीहरु किभको एउटा अपार्टमेन्ट छ । यो भवनको २१ औँ तलामा छ । तर ती व्यक्तिले युक्रेन छाड्ने मेसो नमिल्दासम्म अस्पताल भित्रै श्रीमती र शिशुसंग बस्न चाहेको बताउँछन् । मैले उनीहरुको कुरालाई नाजायज ठानिन् । हो उनीहरुलाई मैले जसरी पनि जोगाउनु पर्छ । त्यो शिशुको मुख हेरेर पनि ।’

यतिवेला सो अस्पतालले गर्भवती महिला र आमाको मात्र नभई घाइते बिरामीको समेत उपचार गरिहेको छ ।

प्रसूति अस्पतालमा अहिले  हरेक दिन हामीसंग आठ दश जना सिपाईहरु उपचारका लागि आउने गरेका छन् । उनीहरु युक्रेनी सेना होइनन् तर रुसविरुद्धको युद्धमा देशको रक्षाका लागि बन्दुक बोकेर खटिएका स्वयंसेवक हुन् । उनीहरु टाउको, छाती र हात खुट्टामा चोटपटक लिएर आइरहेका छन् ।

उनले आफ्नो अस्पतालमा आएका त्यस्ता गम्भीर घाइतेको प्राथमिक उपचार गरी अन्य अस्पतालमा रिफर गर्न समेत सहज भएको बताए ।

युद्धका कारण बन्दीगृह जस्तै बनेको अस्पताल बिरामी, आफन्त र अस्पताल स्टाफलाई खानपानमा समेत समस्या हुन थालेको छ । त्यसैले केही दिन अघि डा जुकिनले फेसबुकमा खाद्यन्न आपूर्तिको लागि आव्हान गरे ।

आफ्नो आव्हान पछि तत्कालै केही अपरिचितले समेत खाना पानी र औषधि ल्याइदिएको उनले सुनाए ।

अर्को रात एउटा कार आयो र उनीहरुलाई खाना दिएर गयो ।

डा. जुकिनले आफूहरुलाई सहयोग गरेको कुनै परोपकारी संस्था होला भनेर सोचेका रहेछन् तर त्यो बास्तवमा एक निजी रेष्टुरेन्टको सेवा रहेछ ।

डा जुकिनले युक्रेन रुस युद्ध केही दिनमै समाप्त हुने आशा गरेका छन् । पक्कै पनि केही दिनमा नयाँ परिस्थिति सिर्जना हुन्छ, अर्थात युद्ध शान्तिमा कायम हुन्छ र हामीले यहि भित्रै खुशीयाली मनाउने छौँ ।

‘यदि त्यसो भएन भने यसले भयावह रुप लिन्छ । आगो जसरी फैलिन्छ । अर्को विश्वयुद्धमा विश्वलाई धकेल्नेछ । पुटिनले यो कुरा बुझ्नुपर्छ,’ उनले आफनो तर्क सुनाए ।

उनले अन्तिममा भने, ‘रुससंग युद्ध लडिरहेको युक्रेन त्यति ठूलो र शक्तिशाली देश त होइन । तर आफ्नो सार्वभौम अधिकार र लोकतन्त्रको रक्षाका लागि आम सर्वसाधारण देशका पक्षमा उभिएका छन् । देशको रक्षाका लागि बन्दुक बोकेका छन् । नागरिकहरु स्वतस्र्फूत रुपमा सेना बनेका छन् ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *