खोप किनेर लगाएँ भन्दै स्वास्थ्यमन्त्री खतिवडाले ढाँटे : एमाले

काठमाडौँ, ३ फागुन । नेकपा एमालेले स्वास्थ्य मन्त्री विरोध खतिवडाले पहिलो डोज खोप किनेर लगाएको भन्दै टेलिभिजनमा दिएको अन्तरवार्ता झुटो भएको बताएको छ । उसले सार्वजनिक सञ्चारमाध्यममा झुटो कुरा गर्ने मन्त्री खतिवडाले नैतिकताको आधारमा राजिनामा दिनु पर्ने माग गरेको छ ।

पार्टीका स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराईले आज विज्ञप्ती जारी गर्दै केपी ओली नेतृत्वको सरकारले २०७७ फागुन १९ देखि २१ सम्म संघीय संसद सदस्यहरुलाई सिभिल अस्पतालमा निशुल्क खोप उपलव्ध गराएको र मन्त्री खतिवडाले त्यसबेला सिभिल अस्पतालको रजिष्टर ख को क्रशं ४८ मा नाम दर्ता गरी खोप लगाएको उल्लेख छ ।

विज्ञप्तीमा ६२ वर्षका खतिवडाले पहिलो डोज व्याच नं ४१२०जेड ००४ को कोभिसिल्ड खोप लगाएको उल्लेख छ ।

मन्त्री खतिवडाले केही दिन अघि सगरमाथा टेलिभिजन र प्राइम टाइम टेलिभिजनलाई दिएको अन्तरवार्तामा पूर्ववर्ती सरकारले खोप व्यवस्थापन नगरेको आरोप लगाउने क्रममा आफूले कोभिडविरुद्धको खोप ५ हजार रुपैयाँ तिरेर लगाएको बताएका थिए ।

विज्ञप्तीमा मन्त्री खतिवडाले पूर्ववर्ती सरकारलाई बदनाम गर्नकै लागि आम जनसमुदायलाई गलत सूचना दिएर कोभिड जस्तो संवेदनशील विषयमा अफभाह सिर्जना गरेको भन्दै निन्दा गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *