बालबालिकालाई खोप लगाउन जाँदा बाटो हिउले पुरिएपछि…….

काठमाडौँ, ५ माघ । सामाजिक सञ्जालमा आज विहानै देखि एउटा फोटो भाइरल भएको छ । फोटोमा भ्याक्सिन क्यारियर बोकेर मुस्किलसंग हिउ छिचोल्दै एक महिला अघि बढी रहेको देखिन्छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले पनि आज विहान फोटो पोष्ट गर्दै लेखेको छ,  ‘कर्तव्यनिष्ठ स्वास्थ्यकर्मीहरु प्रति हार्दिक सम्मान व्यक्त गर्दछौँ ।’

निर्देशनालयले त्यसरी भ्याक्सिन क्यारियर बोकेर हिउ छिचोल्दै गरेकी महिला बागलुङस्थित रणसिंह किटेनी स्वास्थ्य चौकीमा कार्यरत अनमी प्रेम कुमारी केसी भएको उल्लेख गरेको छ । उसले फोटो खिच्ने स्वास्थ्य चौकी इन्चार्ज निशा पुन भएको बताएको छ ।

फोटोमा धेरैले भ्याक्सिन क्यारियरमा कुन खोप थियो होला भनेर जिज्ञासा राखेका छन् । कतिपयले कोभिडविरुद्धको खोप हो कि भनेर अनुमान पनि गरेका छन् ।  तर बास्तविकता भने अलि फरक छ ।

फोटो भाइरल भएपछि हामीले रणसिंंह किटेनी स्वास्थ्य चौकी पर्ने बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणी कँडेललाई सम्पर्क गरेका थियौँ ।

उनले फोटोको बारेमा यसरी स्पष्ट पारे :

यो फोटो केही साता अघि हिउ परेको बेलाको हो । फोटोमा देखिएको महिला बडिगाड गाँउपालिका वडा नं ८ मा पर्ने रणसिंह किटेनी स्वास्थ्य चौकीमा कार्यरत प्रेम कुमारी केसी हुनुहुन्छ । उहाँ करारमा नियुक्ती पाउनु भएकी एसबीए तालिमप्राप्त अनमी हुनुहुन्छ । त्यसबेला स्वास्थ्य चौकीबाट करीव एक दिन पैदल दुरीमा पर्ने भेडिखोर भन्ने दुर्गम ठाँउमा नियमित खोप लगाउन जाँदा बाटोमा एक्कासी हिउ परेपछिको फोटो हो । त्यसबेला  केसीसंगै स्वास्थ्य चौकी इन्चार्ज निशा पुन पनि जानु भएको थियो । बाटो हिउले छोपेपछि मुस्किलले अगाडी बढ्दै गरेको सहकर्मीको फोटो निशा पुनले खिच्नु भएको हो ।

भेडिखोर निकै उच्च र दुर्गम ठाँउमा हो । त्यहाँ २० – ३० जना बच्चाहरु छन् । त्यसैले आउटरिच खोप कार्यक्रमका लागि सिस्टरहरु त्यहाँ जानु भएको हो । एक्कासी हिउ परेपछि पनि उहाँहरु जसो तसो त्यहाँ पुगेर खोप सम्पन्न गरी फर्किनु भयो ।

कतिपयले कोभिडविरुद्धको खोप हो कि भन्नु भएको रहेछ , त्यो होइन । हामीले माघ ११, १२ र १३ गतेका लागि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको खोप दिने योजना बनाएका छौँ ।

यो फोटो मैले दुर्गम र अफ्ठ्यारा ठाँउमा हाम्रा तालिमप्राप्त स्वास्थ्यकर्मीले कसरी काम गरेका छन् । जोखिम मोलेर कसरी आफ्नो दायित्व पुरा गरेका छन् भनेर पोष्ट गरेको हुँ, यसरी भाइरल होला भन्ने सोचेको थिईन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *