पीसीआर परीक्षण शुल्क : सरकारीमा ८०० र निजीमा १५०० रुपैयाँ बनाउने तयारी

काठमाडौँ, ५ माघ । सरकारले कोभिड १९ परीक्षण गर्ने आरटी पीसीआरको शुल्क घटाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब सरकारी प्रयोगशालामा ८ सय रुपैयाँ र निजी प्रयोगशालामा एक हजार ५ सय रुपैयाँ शुल्क तोक्ने तयारी गरेको हो ।

यसअघि पीसीआरको शुल्क सरकारीमा १ हजार रुपैयाँ र निजीमा २ हजार रुपैयाँ तोकिएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेष डा गुणराज लोहनीको संयोजकत्वमा गठित कोभिड १९ को रोकथाम, नियन्त्रण उपचार र अनुगमन सम्वन्धी समितिले पीसीआर नयाँ शुल्क तोक्न सिफारिस गर्न लागेको हो । ‘डा लोहनीको संयोजकत्वमा गठित समितिले पीसीआर नयाँ शुल्क समायोजन गर्न थप प्रतिनिधि समेत समेटेर अर्को उपसमिति बनाइएको थियो । सो उप समितिले सरकारीमा ८०० रुपैयाँ र निजीमा १५०० रुपैयाँ शुल्क तोक्ने सिफारिस गर्ने निर्णय गरेको छ,’ मन्त्रालयका एक अधिकारीले बताए ।

उनका अनुसार सो उपसमितिमा मन्त्रालयका डा मदन उपाध्याय, मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइराला, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रुणा झा, निजी अस्पताल सञ्चालकहरुको संगठन (अफिन) का बरिष्ठ उपाध्यक्ष कुमार थापा, निजी प्रयोगशालाका गोविन्द अकेला सदस्य रहेका थिए ।

‘ उप समितिले सचिवलाई सिफारिस गरिसकेको अवस्था छ । अब आज मन्त्रीस्तरीय निर्णय हुन्छ होला । त्यसपछि कार्यान्वयनमा आउला,’ ती सदस्यले भने ।

त्यसो त स्वास्थ्य सचिव डा रोशन पोखरेलले मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दा पीसीआर परीक्षणको शुल्क घटाइने बताएका थिए ।  उनले छिटै त्यसबारेमा निर्णय हुने समेत जानकारी दिएका थिए ।

सरकारले  पीसीआर परीक्षणको शुल्क तोकेको भएपनि अहिले कोभिडको लक्षण भएका व्यक्तिका लागि भने तोकिएका प्रयोगशालाहरुमा परीक्षण निशुल्क गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *