वीरमा डा. लोहनीलाई पठाउने स्वास्थ्यमन्त्रीको निर्णय प्रधानमन्त्रीले रोकिदिए
काठमाडौँ, २९ पुस । प्रधानमन्त्री शेर बहादुर देउवाले कोभिड -१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुखमा जिम्मेवारी दिइएका प्रमुख विशेषज्ञ डा। गुणराज लोहनीको सरुवा रोकेका छन्। प्रधानमन्त्रीले स्वास्थ्य मन्त्री र सचिवलाई मौखिक निर्देशन दिंदै हाललाई सरुवाको काम कारवाही अघि नबढाउन भनेका हुन् ।
स्वास्थ्य मन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै १२ औँ तहका डा लोहनीलाई वीर प्रमुख बनाएर पठाएका थिए । नयाँ संरचना अनुसार वीरमा १२ औँ तहकै प्रमुख रहने प्रावधान पनि छ ।
‘तर १२ औँ तह (विशिष्ठ श्रेणी)को व्यक्तिको जिम्मेवारी हेरफेर गर्ने मन्त्रिपरिषद्ले हो । मन्त्रीस्तरीय निर्णयले हुँदैन भन्ने कुरा आयो र अहिले स्थगित भयो,’ स्वास्थ्य मन्त्रालय उच्चस्रोतले भन्यो ।
कारण जे सुकै बताइए पनि वीर चरम राजनीति गतिविधि हुने अखडा हो । अहिलेको सरुवामा पनि सोही झलक देखिएको हो ।
गत मंंगलबार बेलुका डा. लोहनीलाई वीरको जिम्मेवारी दिईएको खबर सार्वजनिक भए लगत्तै एउटा समूह सरुवा बदर गराउने कार्यमा जुटिसकेको थियो । बुधबार विहान त अस्पताल परिसरमा नेपाली कांग्रेस समर्थित स्वास्थ्यकर्मीहरुले डा. लोहनीलाई हाजिर गर्न नदिने भन्दै पर्चा बोकेरै गेटबाहिर उभिएका थिए । अर्को समूह बालुवाटार स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र बुझाएर बालुवाटार पुगिसकेको थियो । सो समूहसंग प्रधानमन्त्री देउवाले सरुवा रोक्ने आश्वासन मात्रै दिएनन् । उनीहरुकै अगाडी तत्काल स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिवलाई वीरको जिम्मेवारी हेरफेर गर्ने कार्य कार्यान्वयन नगर्नु भन्दै निर्देशन दिएका थिए ।
वीरमा यसअघि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ११ औँ तहका डा रुद्र मरासिनीलाई प्रमुख बनाएर पठाएका थिए । तर त्यसको केही घण्टामै बालुवाटारबाट निर्देशन आयो र निर्णय रोकियो । त्यसपछि १० औँ तहका डा भुपेन्द्रकुमार बस्नेत निमित्त बनाएर पठाइएको थियो ।
अहिले पनि बालुवाटारको दृश्य ठ्याक्कै तेस्तै देखियो । डा लोहनीको सरुवा स्थगित गरि डा बस्नेतलाई नै निरन्तरता दिन भनियो ।
डा बस्नेतले आफूलाई जिम्मेवारी हेरफेरको बारेमा कुनै औपचारिक जानकारी नआएको बताए । ‘मैले त खुरु खुरु काम गरिरहेको छु । न मलाई हटाइएको भन्ने पत्र आएको छ, न म माथि कसैलाई पठाइएको भन्ने आएको छ । औपचारिक रुपमा केही आएको छैन्,’ उनले भने ।
सम्पर्क इमेल : [email protected]