सुत्केरीको मृत्युपछि त्रिशुली अस्पताल तोडफोड, चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास

नुवाकोट, २७ पुस । प्रसूतीको क्रममा गएराती एक महिलाको मृत्यु भएपछि आफन्तले त्रिशुली अस्पताल तोडफोड गरेका छन् । उनीहरुले डिउटीमा रहेका चिकित्सक, नर्स तथा कर्मचारीमाथि आक्रमणको प्रयास गरेका छन् ।

घटना गयराती (सोमबार मध्यरात) को हो । विदुर नगरपालिका ७ की एक २७ वर्षीया महिलाको सुत्केरी भईसकेपछि अत्यधिक रक्तश्राव भई मृत्यु भएको थियो । आफन्तहरुले चिकित्सकको लापरवाहीका कारण ज्यान गएको भन्दै रातभर तोडफोड र आक्रमणमा उत्रिएका हुन् ।

‘गयरातीको घटना हो । उहाँलाई नर्मल रुपमा डेलिभरी गराउँदै थियौ । त्यसक्रममा एक्कासी रक्तश्राव भयो । यस्तो केशलाई चिकित्कसीय भाषामा पोष्टपार्टम हेमोरेज भनिन्छ । हामीले ज्यान जोगाउनका लागि अथक प्रयाश गर्‍यौँ तर जोगाउन सकेनौँ । हामीसंग दुई जना प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुनुहुन्छ । उहाँहरु दुबै जना भिडनु भयो, एनेस्थेसियोलोजिष्ट र अन्य सपोर्टिङका लागि अन्य विज्ञ डाक्टरहरु पनि लगातार लाग्नु भयो । तर एकाएक डाक्टरको लापरवाहीले ज्यान गयो भन्ने हल्ला चलेछ र दुई तीन सय जना मान्छे आएर रातभर तोडफोडमा उत्रिए । हामीलाई ज्यान जोगाउन मुस्किल भयो । रातभर लुकेर ज्यान जोगाइयो ।’ अस्पतालका मेसु डा दिपेन्द्र पाण्डेले घटनाबारेमा जानकारी दिए ।

उनले आइसीयू, आकस्मिक कक्ष र वार्डबाट समेत चिकित्सक तथा नर्सहरु ज्यान जोगाउनका लागि भाग्नुपरेको बताए । ‘ठूलो भिडले डाक्टरलाई कुट्छौँ मार्छौ, जलाउँछाँै भन्दै अस्पतालको कोठा कोठाका ढोका फोडदै हिडे, नाराबाजी गरे अवस्था यति भयावह भयो कि बर्णन गर्नै सकिदैन,’ उनले थपे ।

रातभरी तोडफोडमा उत्रिएपछि विहान पख वार्ता भएको र स्थानीयले ज्यानमुद्धा चलाउने धम्की दिएको डा पाण्डेले बताए ।

घटनाको विरोधमा अहिले अस्पतालको आकस्मिक बाहेकका सबै सेवा ठप्प भएको मेसु पाण्डेले जानकारी दिए ।

‘ओपिडीमा जानै सकिदैन, फार्मेसी समेत तोडफोड भएको छ । झ्याल ढोका लगायत सिसा सबै तोडफोड भएको छ । त्यो भन्दा पनि सेवाका खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमणको धम्की दिईरहेको अवस्था छ । यस्तो अवस्थामा कुन मनोवलले सेवा दिने । त्यसैले हामीले अहिले आकस्मिक बाहेकका सेवा रोकेका छौँ,’ डा पाण्डेले भने ।

उनले मृतकको सव आफन्तले लगेको र नवजात शिशुलाई थप उपचारको लागि काठमाडौँ रिफर गरिएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *