प्रधानमन्त्री देउवा कम्तीमा पाँच दिन आइसोलेसनमा बस्ने, आइतबार पीसीआर परीक्षण गर्ने

काठमाडौँ, २४ पुस । कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेका प्रधानमन्त्री शेरबहादुर देउवा कम्तीमा पाँच दिन आइसोलेसनमा बस्ने भएका छन् । गठवन्धन दलका नेताहरुमा कोरोना संक्रमण देखिएपछि उनी उनी आजै देखि आइसोलेसनमा बसेका हुन् ।

प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ सल्लाहकार डा आरपी विच्छाले कोरोना कन्ट्याक्ट ट्रेसिङमा परेपछि देउवा आजै देखि होम आइसोलेसनमा बसेको बताए ।

‘छुट्टै कोठामा न्यानो गरी बस्ने व्यवस्था मिलाएका छौँ । अब कम्तिमा पाँच दिनसम्म उहाँ त्यहि नै रहनुहुनेछ,’ डा विच्छाले भने ।

त्यसो त प्रधानमन्त्री देउवाको आइतबार ( भोली ) नै पीसीआर परीक्षण गर्ने योजना रहेको छ । भोलीको परीक्षणमा नेगेटिभ आएपनि थप तीन दिन आइसोलेसनमा बस्ने डा विच्छाले स्पष्ट पारे ।

‘कहिले काँही तीन दिनमा सहि रिपोर्ट नआउन सक्छ । कम्तिमा पाँच दिन कुर्न पर्छ । त्यसैले पनि मंगलबार बुधबारसम्म उहाँ आइसोलेसनमा बस्ने र पाँच दिनपछि पुन पीसीआर जाँच गर्ने । त्यसमा पनि नेगेटिभ आएमा सबै मन्त्रीहरु र उहाँहरुसंग जोडिएका स्टाफहरुको परीक्षण गरेपछि मात्रै अर्को मन्त्रिपरिषद बैठक बस्ने भएको छ,’उनले भने ।

यसअघि बालुवाटारबाट भोलीको पीसीआर रिपोर्ट नेगेटिभ आएमा सोमबार मन्त्रिपरिषद् बैठक राख्ने कि भन्ने सल्लाह मागिएको तर आफूले त्यस्तो गल्ती नगर्न सल्लाह दिएको उनले सुनाए । ‘पाँच दिन त बस्नै पर्छ भनेको छु । त्यहि अनुसार सम्माननीय ज्यूलाई व्यवस्था मिलाएका छाँ,’ उनले भने ।

गएको बिहीबार र शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ गठबन्धनमा आबद्ध दलका नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो । त्यसमा सहभागी कतिपय नेताहरु कोरोना संक्रमणमा परेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *