कोरोना संक्रमण बढेपछि सिंहदरबारमा सीसीएमसीको बैठक, के के भए निर्णय ?

काठमाडौँ २३ पुस ।  कोरोना संक्रमणदरमा तिब्रता आएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक रुपमा कोभिड – १९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठक डाकेका छन् ।

शुक्रबार दिउसो साढे ३ बजे देखि साढे ५ बजेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकमा गृह, स्वास्थ्य, शिक्षा, पर्यटन सहित ८ जना भन्दा बढी विभागीय मन्त्रीहरुको सहभागिता थियो ।

बैठकमा सीसीएमसीको तर्फबाट उपरथी अरुण नेपाल र स्वास्थ्य मन्त्रालयको तर्फबाट सचिव डा रोशन पोखरेलले प्रस्तुतिकरण राखेका थिए ।

सो क्रममा ओमिक्रोन भेरियन्ट, बढ्दो क्रममा देखिएको कोरोना संक्रमण दर र यसका लागि नियन्त्रणका उपाय र प्रयासका बारेमा छलफल भएका थिए ।
बैठकमा प्रधानमन्त्री देउवाले संक्रमण फैलन नदिनका लागि आवश्यक कदमहरु चाल्न निर्देशन दिएका थिए ।

सीसीएमसीका प्रवक्ता सुनिता नेपालका अनुसार  प्रधानमन्त्री देउवाले परीक्षणको दायरा बढाउन, सुरक्षाका मापदण्डहरु अपनाउनका लागि जनचेतनाका कार्यक्रमहरुलाई तिब्रता दिन, नाका नाकामा बनाइएका होल्डिङ सेन्टर निर्माणलाई तिब्रता दिन, खोपको दर बढाउन निर्देशन दिएका थिए । उनले जोखिम समूहको पहिचान गरी अतिरिक्त खोप चाडो व्यवस्था मिलाउन, अस्पतालहरुमा जनशक्ति व्यवस्थापन गर्न र अतिरिक्त अक्सिजन व्यवस्था मिलाउन समेत निर्देशन दिएका छन् ।

बैठकमा स्मार्ट लकडाउनको विषयमा समेत छलफल भएको प्रवक्ता नेपालले बताईन ।

‘भिडभाड हुने क्षेत्रको पहिचान गरी त्यसमा आवश्यक सावधानी र नियन्त्रणका कार्य गर्न समेत सरोकारवालालाई निर्देशन दिने कुरा भएको छ । लकडाउनको विषयमा पनि छलफल त भयो तर आवश्यक निर्णय भइसकेको छैन्,’  उनले भनिन् ,’तर आवश्यकताको आधारमा स्थानीय तहले आवश्यक निर्णय गर्न भनिएको छ ।’

नेपालमा आज २४ जनामा ओमिक्रोन भेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यस्तै पछिल्लो चौविस घण्टामा ९६८ जनामा संक्रमण देखा परेको छ । जवकी विहीबार यो संख्या ५४० थियो ।

छिमेकी मुलुक भारतमा आज १ लाख १७ हजार बढी नयाँ केश थपिएको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *