अब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि मिर्गौला प्रत्यारोपण हुने

पोखरा, २२ पुस । अब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण हुने भएको छ । प्रत्यारोपणका लागि भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सघाउने भएको छ ।

बुधबार प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्राडा डुकबहादुर क्षेत्री र प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले अंग प्रत्यारोपण तथा डायलायसिस सेवा विस्तारको लागि सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

पाँच बुँदे उक्त समझदारी पत्रमा प्रत्यारोपणंसंगै प्रदेशका विभिन्न स्थानमा डायलायसिस सेवा विस्तार गर्ने, प्रत्यारोपण तथा डायलायसिसको लागि प्रत्यारोपण केन्द्रले जनशक्तिको तालिम अध्ययापन आदि व्यवस्थापन गर्ने, प्रदेशमा आवश्यक जनशक्तिको तालिम प्रत्यारोपण केन्द्रमा गर्ने र सेवा सञ्चालन गर्नका लागि प्रत्यारोपण केन्द्रमा कार्यरत अनुभवी जनशक्ति परिचालन गर्ने रहेको छ ।

यसैगरी मस्तिष्क मृत्युबाट हुने अंगदान र प्रत्यारोपण लगायतका कार्य प्रभावकारी बनाउन कार्य योजना प्रस्तुत गर्ने, प्रतिष्ठान अन्तरगर्त प्रत्यारोपण केन्द्र भक्तपुरमा मिर्गौला प्रत्यारोपण फेलोसिप, एमसीएच, युरोलोजी, डिएम नेफ्रोलोजी, नर्सिङ विषयको स्नातक तथा स्नातकोत्तर तह लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने आवश्यक गृह कार्य गर्ने लगायतका सम्झौँता भएको छ ।

सम्झौंता पछि कुरा गर्दै प्रत्यारोपण केन्द्रका निर्देशक डा श्रेष्ठले देशमा मिर्गौला फेलियर हुनेको संख्याको तुलनामा प्रत्यारोपण हुने दर कम भएकोले त्यसलाई बढाउने योजना अन्तरगर्त प्रतिष्ठानसंग सम्झौँता भएको बताए ।

उनले भने, ‘हामीले अहिले मुख्य त तीन कुरामा जोड दिएका छौँ, पहिलो प्रत्यारोपण सेवा र डायलायसिस सेवा विस्तार गर्ने, दोस्रो मस्तिष्क मृत्यु पछि हुने अंगदान तथा प्रत्यारोपणबारे जनचेतना अभिवृद्धि गर्ने, तेस्रो यी कार्यका लागि दक्ष जनशक्ति तयार गर्ने, जस अन्तरगर्त शैक्षिक तथा तालिमका कार्यहरु पर्दछन् । अहिले प्रतिष्ठानसंग भएका सम्झौँता पनि यिनै हुन् ।’

नेपालमा बार्षिक ३ हजार बढीको मिर्गौला फेल हुने गरेको छ । सरकारले डायालासिस तथा प्रत्यारोपण केन्द्रलाई सातवटै प्रदेशमा विस्तार गर्ने योजना बनाएको छ । यहि योजना अन्तरगर्त प्रत्यारोपण केन्द्रले प्रतिष्ठानसंग सम्झौँता भएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *