कर्णाली प्रतिष्ठान पदाधिकारी प्रकरण : उच्च अदालतले उल्ट्याइ दिएपछि सरकार ‘भ्याकेट’मा

काठमाडौँ, २० पुस । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई काम काज गर्न रोक लगाउने निर्णय पाटन उच्च अदालतले उल्ट्याईदिएपछि सरकार त्यस विरुद्ध भ्याकेटमा गएको छ ।

स्वास्थ्य मन्त्री विरोध खतिवडाले गत २३ कात्तिकमा उपकुलपति डा मंगल रावल, रजिष्ट्रार नृपेन्द्र महत सहितका पदाधिकारीलाई काम काजमा रोक लगाउने निर्णय गरेका थिए ।

सो निर्णयविरुद्ध उपकुलपति डा रावल, रजिष्ट्रार महतले पाटन उच्च अदालतमा रिट दायर गरेका थिए । दायर रिटको २९ कात्तिकमा भएको सुनुवाईमा उच्च अदालतका न्यायाधीश भोजराज अधिकारीले पदाधिकारी हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएका थिए ।

स्वास्थ्य मन्त्री खतिवडा उच्च अदालतको सो निर्णय विरुद्ध भ्याकेटमा गएका हुन् ।

स्वास्थ्य मन्त्रालयको तर्फबाट सचिव डा रोशन पोखरेलले गत १२ पुसमा भ्याकेट दायर गरेका हुन् । भ्याकेटमा आफूहरुले पदाधिकारीलाई कामकाजमा रोक लगाउने निर्णय ठिक भएकोले अन्तरिम आदेश दिने निर्णय खारेज गरिपाउँ भन्ने माग गरिएको छ ।

‘त्यहि हो, हामीले त्यसबेला गरेको निर्णय ठिक थियो । हामीलाई जवाफ दिने मौका नै नदिई निर्णय सुनाइयो भनेर १२ पुसमा भ्याकेटमा गएका हौँ । हिजो (१९ पुसमा) यस विषयमा छलफल समेत भएको छ । विपक्षी (उपकुलपति डा रावल) सहितको टीमसंग पनि जवाफ माग गरिएको छ सायद । अब छिटै नै यस विषयमा पेशी तोकिन्छ होला,’ स्वास्थ्य मन्त्रालयको उच्च स्रोतले भन्यो ।

मन्त्री खतिवडाले त्यसबेला मन्त्रीस्तरीय निर्णय गर्दै उपकुलपति डा रावल तथा रजिष्ट्रार महतलाई कामकाजमा रोक लगाउँदै शिक्षाध्यक्ष रहेका डा निरेश थापालाई निमित्त उपकुलपतिको जिम्मा समेत दिईसकेका थिए । उच्च अदालतको अन्तरिम आदेशपछि मन्त्रीको निर्णय सबै बदर भएको थियो ।

राम्रा होइन हाम्रा खोज्ने खतिवडाको ‘अनौठो शैली’

खतिवडाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जे जति कारणले निर्णय लिए, त्यो राम्रो मान्छे नभएको कारणले होइन, हाम्रो मान्छे नभएको कारणले थियो । मन्त्रालयका एक उच्च अधिकारीले टिप्पणी गरे । हुन पनि कर्णालीका उपकुलपति डा रावल र रजिष्ट्रार महत नेकपा एमाले निकट मानिन्छन् ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारमा नै उनीहरुले नियुक्ति पाए । तर उनीहरुलाई त्यसैको आँखाले हेर्नु भने अन्याय हुन्छ ।

डा रावलको नेतृत्वमा कर्णाली प्रतिष्ठानले साच्चिकै फड्को मारेको छ । एमडीएमएस मात्रै होइन, धेरैको चासोको विषयमा रहेको एमबीबीएस कार्यक्रम उनकै पालामा सुरु भएको छ । स्थानीय, युवा र जुझारु नेतृत्व पाएको कर्णाली प्रतिष्ठानले यसबेला देशभरका अरु प्रतिष्ठानलाई पछाडी पार्ने दिशामा आफूलाई प्रस्तुत गरेको छ । तर मन्त्री खतिवडा भने उनीहरुलाई त्यहाँबाट हटाई छाड्ने ध्याउन्नमा देखिन्छन् ।

‘त्यहाँ उनीहरुलाई राख्दा राजनीतिक कमजोर हुन्छ भन्ने मन्त्री ज्यूको बुझाई छ.’ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘त्यसैले उनीहरुलाई कामकाजका लागि रोक लगाउने र विस्तारै पदमुक्त गर्ने र आफ्ना मान्छे नियुक्त गर्ने हो ।’

तर, डा रावल भने कामकाज रोक्ने र हटाउने स्वास्थ्य मन्त्री र मन्त्रालयको कमद पूर्णत गलत रहेको बताउँछन् ।

‘मन्त्री ज्यूले दुई महिना अघि जसरी गलत बुझाईले निर्णय गर्नु भएको थियो । यसपटक पनि त्यहि दोहो¥याउँदै हुनुहुन्छ । कर्णालीमा मेरो नेतृत्वमा आएपछि के कति काम भए ? के भएन ? त्यो हेर्नुपर्ने हो, नभएको भए भन्नु पर्ने हो । हामी प्रतिष्ठान बनाउन आएका हौं । गरेर देखाएका पनि छौँ । अन्य कुरा त गौण हुन् जस्तो लाग्छ । तर, यहाँ त गौण कुरालाई नै मुख्य मानेर काम हुन थालेको जस्तो छ’ उनले भने ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *