पूर्वखोलामा ५५० जना विद्यार्थीको मुटु परीक्षण

पाल्पा २ पुस ।  पूर्वखोलाको उद्वुद्ध मावि र कलेजमा अध्ययनरत ५५० जना विद्यार्थीको मुटु परीक्षण भएको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान पूर्वखोला इकाईको आयोजना विहीबार विद्यार्थीहरुको मुटु परीक्षण भएको हो ।

मुटु परीक्षणका लागि काठमाडौँबाट बरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी पूर्वखोला आएका थिए । उनले विहानै देखि उद्वुद्ध माविको बाल कक्षा देखि १२ कक्षा सम्मका र कलेज तर्फ स्नातक तहका विद्यार्थीहरुको मुटु परीक्षण गरेका हुन् । सो क्रममा उनले विद्यार्थीहरुलाई मुटुरोगबाट जोगिने उपाय तथा तरिकाहरु समेत सिकाएका थिए ।

प्रतिष्ठान पूर्वखोला इकाईका सचिव हरिप्रसाद न्यौपानेले बाल कक्षा देखि स्नातक तहसम्मका विद्यार्थी र शिक्षकहरुको मुटु परीक्षण गरिएको बताए । उनले पूर्वखोला इकाइले नियमित रुपमा मुटु स्वास्थ्य सम्वन्धी अन्य गतिविधिहरुलाई पनि अघि बढाउने बताए ।

१० वर्षे पूर्वखोला मुटु कार्यक्रम सञ्चालन गरिने
यसैबीच पूर्वखोलामा १० वर्षे पूर्वखोला मुटु कार्यक्रम सुरु गरिने भएको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान पूर्वखोला इकाई र पूर्वखोला गाँउपालिकाबीच १० वर्षे कार्यक्रम सञ्चालन गर्ने विषयमा सम्झौँता भएको छ ।

‘मुटु स्वास्थ्य सम्वन्धी कार्यक्रम गर्न गाँउपालिकासंग सम्झौंता भएको छ । सो कार्यक्रमका लागि पूर्वखोला इकाइलाई अव प्रतिष्ठान केन्द्रले सहयोग गर्नेछ,’ प्रतिष्ठानका पूर्व अध्यक्ष एवं कार्यक्रम अधिकृत समेत रहेका डा रेग्मीले भने ।

‘सो कार्यक्रम अन्तरगत गाँउपालिका भरिका मुटुका विरामीहरुको तथ्यांक राख्ने । विरामीहरुको निगरानी राख्ने, नियमित मुटु स्वास्थ्य शिविर चलाउने र मुटुरोग रोकथामका लागि चेतनामुलक कार्यक्रम गर्ने लगायतका कार्यहरु हुनेछन्,’डा रेग्मीले भने । उनले सोही कार्यक्रम अन्तरगर्त टेलिमेडिसिन उपचार सेवा समेत सञ्चालन गर्ने योजना रहेको बताए ।

उद्वुद्ध कलेजमा ५ लाख रुपैयाँको अक्षयकोष
यसैबीच बरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले उद्वुद्ध कलेजलाई ५ लाख रुपैयाँको अक्षयकोष उपलव्ध गराएका छन् । स्नातक तहका दुई जना छात्रछात्रलाई हरेकवर्ष १० हजारको दरले छात्रबृत्ति दिनका लागि आफ्ना बाबा स्वर्गीय कमलराज रेग्मीको नाममा अक्षयकोष स्थापना गरेका हुन् ।

‘स्वर्गीय कमलराज रेग्मी छात्रबृत्ति अन्तरगर्त कलेजका मध्यम खालका विद्यार्थीले यो छात्रृत्ति पाउनेछन् । गरीव र जेहेन्दार विद्यार्थीले धेरै नै छात्रबृत्ति पाउछन तर मध्यम खालका विद्यार्थी त्यस्तो अवसरबाट बन्चित हुन्छन् त्यसैले त्यस्ता खालका दुई जना विद्यार्थीलाई हरेक वर्ष कलेजमा लाग्ने बार्षिक पढाई शुल्क तिर्न पुग्ने गरी हामीले छात्रबृत्ति दिने निधो गरेका हौं,’ उनले भने ।

अक्षयकोषका लागि डा रेग्मीले विहीबार नै कलेजका प्रिन्सिपल कृष्णप्रसाद भट्टराईलाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *