न्युजिल्याण्डमा अब नयाँ पुस्ताले चुरोट किन्नै नपाउने
बीबीसी । चरणवद्ध रुपमा देशबाट धूमपान प्रयोगकर्ता अन्त्य गर्ने योजना लिएको न्युजिल्याण्डले अब नयाँ पुस्ताहरुलाई सुर्तीजन्य पदार्थको विक्रीमा रोक लगाउने भएको छ ।
स्वास्थ्य मन्त्रालयले विहीबार सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी नयाँ व्यवस्था सार्वजनिक गर्दै यस्तो बताएको हो ।
नयाँ व्यवस्था अनुसार सन् २००८ पछि जन्मिएका पुस्ताले सुर्तीजन्य पदार्थ खरीद गर्न पाउने छैनन् । यो व्यवस्था आगमी बर्ष देखि कार्यान्वयनमा आउने भनिएको छ ।
नयाँ व्यवस्था घोषणा कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री डा. आयशा भेरालले भनिन्, ‘युवापुस्ताले कहिल्यै धुम्रपान सुरु नगरुन् भनेर सुनिश्चित गर्न चाहन्छौं ।’
न्यूजिल्याण्डका चिकित्सक र स्वास्थ्य विज्ञले सूर्तीजन्य पदार्थसम्मको पहुँच सीमित पार्ने र चुरोटमा निकोटिन बन्देज गर्ने सरकारी कदमको स्वागत गरेका छन् ।
‘यसले मानिसलाई चुरोट छोड्न वा कम हानिकारक पदार्थ सेवन गर्न सघाउने छ’, ओटागो विश्वविद्यालयकी प्राध्यापक ज्यानेट हूकले बताइन्, ‘त्यस्तै, युवा पुस्ता निकोटिनको लतमा फँस्ने संभावना पनि कम हुन्छ ।’
‘मलाई लाग्छ बास्तवमा यो एक राम्रो कमद हो’ एक व्यक्तिले रोयटर्सलाई भने, ‘किनभने यहाँ अहिले धेरै ससाना केटाकेटीहरु मुखमा धुवा लिएर हिडिरहेका छन् । जनताले उनीहरुलाई यी धुवा कसरी लिइरहेका छन् भनेर सोधिरहेका छन् । र यो मेरो लागि पनि राम्रो छ किनभने अब मैले धेरै पैसा बचत गर्न सक्छु ।
केहीले भने यस कदमको विपक्षमा पनि तर्क गरेका छन् । एक जनाले भनेका छन्, ‘सरकारको यो कदमले अब सुर्तीको कालोबजार सिर्जना गर्छ ।’
न्यजिल्याण्डले सन् २०२५ सम्ममा धूमपानदरलाई ५ प्रतिशतसम्ममा झार्ने लक्ष्यका लिएको छ र अन्तत धूमपानमुक्त राष्ट्र बनाउने योजना रहेको छ ।
अहिले न्युजिल्याणका १३ प्रतिशत बयस्क धूमपान गर्ने गरेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार न्युजिल्याण्डमा धूमपान गर्ने चारमध्ये १ जनामा क्यान्सरको समस्या देखिएको छ । यो घोषणापछि कम्तीमा ५० लाख जनसंख्यालाई क्यान्सर लाग्नबाट जोगाउन सकिन्छ ।
विहीबार घोषणा गरिएको नयाँ व्यवस्थामा सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी थप नीतिहरु अघि सारिएको छ । यस अनुसार सुपरमार्केट र कर्नर स्टोरले अब सुर्तीजन्य पदार्थ विक्री गर्न पाउने छैनन् । यसले अहिले भएको करीव ८ हजार चुरोट बेच्ने पसलहरु घटेर ५०० मा झर्ने विश्वास लिइएको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



