एमाले महाधिवेशनस्थलमा विशेषज्ञ चिकित्सक सहित २५० बढी स्वास्थ्यकर्मी परिचालन, यसरी हुँदैछ स्वास्थ्य सेवाको व्यवस्थापन

चितवन, १० मंसिर । नेकपा (एमाले)को आज देखि सुरु १० औं राष्ट्रिय महाधिवेशनमा विशेषज्ञ चिकित्सक सहित नर्स, प्यारामेडिक्स, प्रयोगशालाकर्मी, फार्मासिस्ट लगायत २५० बढी स्वास्थ्यकर्मीको टोली परिचालन हुँदैछ ।

एमाले नेता एवं पूर्वस्वास्थ्य मन्त्री भानुभक्त ढकालको संयोजकत्वमा गठित स्वास्थ्य समितिले परिचालन गरेका स्वास्थ्यकर्मीहरु अधिवेशनको पहिलो दिन नारायणी नदि किनारको उदघाटनस्थलमा र शनिबारबाट बन्द सत्र सुरु हुने सौराहामा समेत खटिनेछन् ।

समितिका एकजना सदस्य लिलाधर पौडेलका अनुसार आज पाँच ठाँउबाट सुरु हुने जुलुको बीचमा स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स हुनेछ । एम्बुलेन्सको संयोजन नेपाल रेडक्रस चितवन शाखाले गरिदिएको छ । उदघाटनस्थल रहेको नारायणी नदि किनारको मञ्चको पछाडी भिआईपीका लागि भनेर क बर्गको विशेष एम्बुलेन्स र स्वास्थ्यको स्टल राखिएको छ ।

सभास्थल वरपर कम्तीमा तीनवटा स्वास्थ्यजाँच गर्ने स्टल र त्यसमा विशेषज्ञ चिकित्सक, नर्स, प्रयोगशालाकर्मी, फार्मासिस्ट सहितको टोली रहनेछ ।

त्यहाँ आउने सहभागीहरुले आवश्यकपरेमा निशुल्क स्वास्थ्य जाँच, औषधिहरु लिन सक्नेछन् ।

पौडेलका अनुसार गम्भीर स्वास्थ्य समस्या पर्नेहरुका लागि दुईवटा मेडिकल कलेज, ठूला सरकारी अस्पताल सहित निजी अस्पतालहरुसंग समेत समन्वय गरिएको र त्यहाँ उपचारको व्यवस्था मिलाइएको छ ।

१५ जना बढी विशेषज्ञ चिकित्सक, त्यतिकै संख्यामा चिकित्सक, ४० जना बढी नर्स, ७० बढी प्यारामेडिक्स, प्रयोगशालाकर्मी फार्मासिस्टहरु अधिवेशन भरका लागि सिफ्टवाइज सेवामा खटिने उनले बताए ।

कोभिडको जाँच गरिदै, सहभागीहरुलाई मास्क लगाउन विशेष अनुरोध
स्वास्थ्य समितिले उदघाटन सत्र र बन्द सत्रमा सहभागीहरुका लागि आवश्यकता अनुसार कोभिडको जाँच (एन्टीजेन टेष्ट)को व्यवस्था मिलाउने बताएको छ ।

लक्षण भएका र आवश्यकता देखिएकाहरुका लागि हामीले स्टलहरुमा एन्टीजेन टेष्टको व्यवस्था मिलाएको छौँ पौडेलले भने । उनले सहभागीसबैलाई मास्क अनिवार्य रुपमा लगाईदिन समेत अनुरोध भइरहेको सुनाए ।

‘सबै सचेत हुनुहुन्छ । सबैले मास्क लगाउनुहुन्छ भन्ने हाम्रो विश्वास हो तै पनि हामी भन्ने पनि छौँ कि मास्क लगाउनुहोला भनेर । कोही सभागीहरुलाई कोभिडको लक्षण देखियो भने एन्टीजेन टेष्ट गर्ने व्यवस्था समेत मिलाएका छौ,’ उनले भने ।

उनले स्टलहरुमा निशुल्क औषधिसंगै मास्क तथा स्यानिटाइजरको व्यवस्था गरिएको सुनाए ।

होटल होटलमा स्वास्थ्य टोली पुग्ने
भोलिबाट सौराहामा सुरु हुने बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरु तथा सहभागीहरुलाई स्वास्थ्य सेवा आवश्यकता परेमा होटल होटलमा स्वास्थ्यकर्मीको टोली एम्बुलेन्स सहित परिचालन गर्ने व्यवस्था मिलाइएको सदस्य पौडेलले बताए ।

उनले भने, ‘सौराहामा बन्दसत्र स्टलमा स्वास्थ्यको स्टल त राखिएकै हुन्छ । त्यहाँ पनि आवश्यकता अनुसार स्वास्थ्य जाँच पनि हुन्छ । त्यसबाहेक होटलमा बसेका बेला गाह्रो भयो भने हाम्रो टोली एम्बुलेन्स सहित होटलमै पुगेर स्वास्थ्य सेवा दिनेछ,’ उनले भने ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *