रेबिजविरुद्धको ‘इम्युनोग्लोबुलिन’ सुई अब सातै प्रदेशको १० वटा अस्पतालमा निशुल्क पाइने

काठमाडौँ, २ मंसिर ।  रेबिजरोग विरुद्ध प्रयोग हुने इम्युनोग्लोबुलिन सुई लिन भन्दै अब काठमाडौँ धाउन नपर्ने भएको छ । सरकारले सातै प्रदेशमा निशुल्क रुपमा यो सुई लगाउने व्यवस्था मिलाए पछि यसैका लागि संघीय राजधानी धाउनुपर्ने बाध्यता हटने भएको हो ।

अहिलेसम्म यो सुई शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा मात्रै उपलव्ध थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले विहीबार पत्रकार सम्मेलन गर्दै आगामी ५ मंसिर देखि यो सुई टेकु बाहेक प्रदेश नं १ मा कोशी अस्पताल, प्रदेश नं २ मा जनकपुर अस्पताल र नारायणी अस्पताल, बागमती प्रदेशको मदनभण्डारी स्वास्थय विज्ञान प्रतिष्ठान हेटौंडा र भरतपुर अस्पताल चितवन, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको लुम्बिनी अस्पताल बुटवल, कर्णाली प्रदेशको कर्णाली प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको सेती अस्पताल धनगढीबाट लिन सकिने बताए ।

मन्त्री खतिवडाले आगामी आर्थिक बर्षमा आवश्यकता र औचित्यको आधारमा सबै जिल्लामा यस सेवालाई बिस्तार गर्ने योजना रहेको समेत सुनाए ।

केहो इम्युनोग्लोबुलिन सुई ?


स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेलका अनुसार रेबिज इम्युनोग्लोबुलिन एउटा औषधि हो, जुन रेबिज लाग्न सक्ने जनावरले टोकेपछि घाउको वरीपरी सुइको माध्यमले लगाइन्छ ।

सामान्यतया एन्टिरेबिज भ्याक्सिन लगाएको ७ देखि १० दिन भित्र मात्र शरिरले एन्टिबडी बनाउन थाल्दछ ।   एक वा एक भन्दा बढि घाउ हुने गरि टोकेमा, ठुलो घाउ हुनेगरि टोकेमा, म्युकस मेम्ब्रेन वा छाला फुटेको ठाउँमा रेबिज संकास्पद जनावरको र्याल परेमा वा अनुहार र हातमा टोकेमा बढी जोखिम मानिन्छ ।

यस्तो टोकाइहरु बढि संबेदनशिल हुने हुँदा तत्काल रेबिज भाइरसलाई निष्कृय बनाई रेबिजको कारण हुन सक्ने जोखिम कम गर्ने उदेश्यले रेबिज इम्युनो ग्लोबुलिनको सुई दिनु पर्छ । यसले रेबिजभाइरसलाई निष्कृय गराउने हुँदा यो जहिले पनि घाउको वरीपरी नै लगाईन्छ । रेबिज इम्युनो ग्लोबुलिनको सुइ जीवनमा एक पटक मात्र लगाए पुग्छ ।

रेविज रोग के हो ?
बिश्व स्वास्थ्य संगठनको सन् २०३० सम्ममा बिश्वमैं रेबिजबाट हुने मानव मृत्यु शुन्यमा झार्ने लक्ष्य लिएको छ । त्यसलाई नेपालले समर्थन गर्दै अघि बढेको छ ।
रेबिज रोग, रेबिज ग्रस्त कुनै पनि स्तनधारी प्राणिहरुबाट मानिसमा सर्न सक्ने र रेबिज भाइरसबाट लाग्ने प्राणघातक रोग हो । यो बौलाहा जनावरले मानिसलाई टोक्दा लाग्ने रोग भनेर पनि चिनिन्छ ।

रेबिज लागेको जनावरले टोकेमा वा चिथोरेमा उक्त जनावरको र्यालबाट यो रोग मानिसमा सर्ने गर्दछ । घाउ वा छाला छेडेको ठाउँमा चाट्दा वा मुख तथा नाकको म्युकस मेम्ब्रेनमा रेबिज लागेको जनावरले चाट्दा पनि यो रोग सर्न सक्दछ । यदि मानिसलाई रेबिज रोग लागेमा यसको कुनै उपचार छैन तसर्थ संकास्पद रेबिज संक्रमित जनावरले टोकेमा तत्काल एन्टि रेबिज भ्याक्सिन लगाउनु पर्दछ ।

रेविज विरुद्धका सुईहरु निशुल्क छन्

डा पौडेलका अनुसार देशका बिभिन्न अस्पताल लगायत केहि प्राथमिक स्वास्थ्य केन्द्रहरुमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट निशुल्क प्राप्त भएको एन्टी रेबिज भ्याक्सिन टिकट शुल्क मात्र लिएर निशुल्क प्रदान गर्ने गरिएको छ । रेबिजइम्युनो ग्लोबुलिनका सुई अहिलेसम्म शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट मात्र निशुल्क प्रदान गर्ने गरिएको थियो । अब भने अरु नौ वटा स्थानबाट समेत यो सुई निशुल्क रुपमा उपलव्ध हुनेछ ।

विश्वका १५० देशमा हरेक वर्ष रेविज रोग लागेर ५९ हजार मानिसले ज्यान गुमाउने गरेको तथ्यांक छ । नेपालमा रेविजबाट कति जनाको ज्यान जान्छ भन्ने एकीन तथ्यांक छैन तर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको मात्र बिगत ७ बर्षको तथ्याङ्क हेर्ने हो भने रेबिजकै कारण बार्षिक १५ जना देखि ३६ जना सम्मको मृत्यु भएको देखिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *