राष्ट्रिय स्वास्थ्यकर्मी संघले आफ्ना अध्यक्ष, बरिष्ठ उपाध्यक्ष र उपाध्यक्षलाई स्पष्टीकरण सोध्यो

काठमाडौँ, २४ कात्तिक । नेकपा एमाले निकट मानिने राष्ट्रिय स्वास्थ्यकर्मी संघले आफ्नो अध्यक्ष भक्तिमान सुब्बा, बरिष्ठ उपाध्यक्ष डा कृष्णगोपाल महर्जन र उपाध्यक्ष राधा सिलवाललाई पदबाट निलम्बन गरेको छ ।

मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले तिनै जना पदाधिकारीले संगठनको नीति विपरितका गतिविधिमा सम्लग्न आरोप लगाउँदै स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको छ । बैठकले यसअघि उपाध्यक्ष रहेका रामबहादुर चन्दलाई कार्यवहाक अध्यक्ष र भीमराज सिंहलाई उपाध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको छ ।

निलम्बनमा परेका अध्यक्ष सुब्बा, बरिष्ठ उपाध्यक्ष महर्जन र उपाध्यक्ष सिलवाल अहिले माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा आवद्ध छन् । उनीहरु सो पार्टीको विभिन्न विभागका केन्द्रीय सदस्यको रुपमा जिम्मेवारीमा तोकिईसकेका छन् ।

उपाध्यक्ष सिंहले संघको विधानको दफा १० मा उल्लेखित सदस्यको आचरण सम्वन्धी क्रियाकलापहरु पालना नगरेको भन्दै तिन जना पदाधिकारीहरुलाई निलम्बन गर्दै स्पष्टीकरण सोध्ने निर्णय भएको बताए । उनले भने,  ‘उहाँहरुलाई राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेकपा एमालेको जनसंगठन भन्ने अवगत नै छ, तर अहिले उहाँहरु नेकपा एस तिर लागेको र संघ विरोधी फुटप्रस्त गम्भीर प्रकृतिको गतिविधिमा सम्लग्न भएको ठहर गर्दै स्पष्टीकरण सोधिएको हो ।’

बैठकले तिनै जना पदाधिकारीलाई तीन दिन भित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

पत्रमा ‘तपाईँ संगठनको नीति विपरितको गतिविधिमा सम्लग्न भएको पाइएकोले तपाईंलाई कारवाही किन नगर्ने ?’ भनेर जवाफ मागिएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *