शिक्षक अस्पताल कहाँ बनाउने ? उपयुक्त ठाँउ सिफारिस गर्न बन्यो सात सदस्यीय समिति

508
Shares

काठमाडौँ, २३ कात्तिक । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक अस्पताल बनाउने उपयुक्त स्थान खोज्न सात सदस्यीय समिति गठन गरेको छ । शिक्षा मन्त्री देवेन्द्र पौडेलले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै डा विमल चालिसेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेका हुन् ।

उक्त समितिलाई दुई महिना भित्र काठमाडौँ उपत्यका वा बाहिर उपयुक्त ठाँउमा जग्गा खोग्ने कार्याधिकार तोकिएको छ ।

अघिल्लो सरकारले १५ जेठमा ल्याएको अध्यादेशवाला बजेटलाई प्रतिस्थापन गर्दै अर्थ मन्त्री जनार्दन शर्माले गत २५ भदौमा पुरक बजेट प्रस्तुत गरेका थिए । सो बजेटमा ‘शिक्षकहरुको स्वास्थ्य उपचारका लागि छुट्टै अस्पताल निर्माण गर्न अध्ययन गरिनेछ’ भन्ने उल्लेख छ ।

‘पछिल्लो पटक आएको बजेटमा उल्लेख भए अनुरुप अस्पतालका लागि उपयुक्त जग्गा खोज्नका लागि माननीय मन्त्रीस्तरको निर्णय भएर समिति गठन गरिएको हो,’ शिक्षा सचिव रामप्रसाद थपलियाले भने, ‘सो समितिले गरेको सिफारिसको आधारमा अस्पतालको ठाँउ निर्धारण हुने र निर्माणको प्रक्रिया सुरु हुनेछ ।’

शिक्षकहरुले देशमा निजामती कर्मचारीका लागि छुट्टै अस्पताल भएजस्तै आफूहरुका लागि पनि छुट्टै शिक्षक अस्पताल हुनु पर्ने माग राख्दै आएका थिए । सोही माग बमोजिम परिमार्जित बजेटमा शिक्षक अस्पताल सम्वन्धी अध्ययन गर्ने कुरा उल्लेख भएको सचिव थपलियाले बताए ।

यसैबीच शिक्षामन्त्रीस्तरीय बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत कर्णाली प्रदेशस्तरीय कार्यालय भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको छ। त्यसका लागि लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ मा जग्गाको व्यवस्था गरिएको बताइएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *