चिकित्सकविहीन बन्यो मुस्ताङ अस्पताल, सेवा सञ्चालनका लागि अहेवलाई ल्याईदै

जोमसोम, २१ कात्तिक ।  करारका दुई जना चिकित्सक समेत अवधी सकिएर हिडेपछि मुस्ताङ अस्पताल यतिवेला चिकित्सकविहीन बनेको छ । मुस्ताङ सदरमुकाम जोमसोममा रहेको सो अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट रहेका डा. मनोज घिमिरे यसअघि नै काज मिलाएर जिल्लाबाट बाहिरिएका थिए । उनी कात्तिकको सुरु देखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गएका छन् ।

करारमा कार्यरत दुई जना डाक्टर ऋषब खनाल र साजन बरालको अवधी गत असोजमा सकिएको थियो । उनीहरु पनि १६ कात्तिकमा अस्पतालबाट बाहिरिएका छन् । उनीहरु समेत बाहिरिएपछि जिल्ला अस्पताल एक साता देखि चिकित्सक विहीन बनेको छ ।

यता चिकित्सक विहीन बनेर सेवा नै प्रभावित हुन थालेपछि स्वास्थ्य कार्यालयको समन्वयमा अस्पतालको सेवा सञ्चालन गर्न घरपझोङ गाउँपालिकाको मार्फा स्वास्थ्य चौकीमा कार्यरत अहेव अर्जुन किसानलाई ल्याएर सेवा सञ्चालन गरिदैछ । अव चिकित्सक नआउँदासम्म अहेव किसानको नेतृत्वमा सेवा सञ्चालन हुने बताइएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयमा सचिवज्यूसँग कुरा भएको र त्यहाँबाट जति सक्यो चाँडो चिकित्सकको व्यवस्था गर्ने आश्वासन पाएको बताए । प्रजिअ शर्माले भने, ‘चिसो ठाउँमा बिरामीहरु कुन समय कस्ता प्रकृतिका आउँछन् पत्तै नहुने त्यही अस्पतालमा डाक्टर नै नहुँदा निकै कठिन भएकोले स्वास्थ्य चौकीका अहेबलाई काज तानेर दैनिक बिरामी चेकजाँचको व्यवस्था मिलाइएको छ ।’

जोमसोम अस्पताल १५ शैयाको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *