स्वास्थ्य मन्त्रालयमा छिर्दा देखिने एउटा साधारण तर महत्वपूर्ण सूचना…..

काठमाडौँ, ११ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मुलढोकाबाट भित्र छिर्दा सोधपुछ कक्षको भित्तामा हिजो आज एउटा सानो सूचना टासिएको देख्न सकिन्छ ।

सूचनामा भनिएको छ, ‘स्यानिटरी प्याड आवश्यक परेमा कोठा नं १०९ मा सम्पर्क गर्नुहोला ।’

हेर्दा सामान्य लाग्ने यो सूचना महिलाहरुका लागि भने निकै नै महत्वपूर्ण रहेको छ । बुधबार मन्त्रालयमा भेटिएकी एकजना महिला सर्मिला पराजुली सूचना देखेर खुशी हुँदै यस्तो सूचना अव सबैजसो कार्यालयमा राखिनुपर्ने बताइन । उनी भन्छिन्, ‘यो कन्सेप्ट जसले ल्याएको भएपनि अति नै राम्रो र महत्वपूर्ण भयो । पिरियड हुने हामीजस्तो महिलाहरुले कहिलेकाँही कस्तो समस्या भोग्नुपर्छ भन्ने कुरा हामीलाई मात्रै थाहा छ । अब भने कम्तीमा मन्त्रालयमा आउँदा त्यो खालको तनाव लिनु नपर्ने भयो ।’

मन्त्रालयमा स्यानेटरी प्याड राख्ने योजनाको अगुवाई सहसचिव शैलजा रेग्मी भट्टराईले गरेकी हुन् । ‘दशैं विदा शुरु हुनु केही दिन अघिदेखि यो सेवा सुरु गरेका हौँ ,’ उनले भनिन् । रेग्मीले खासगरी निजामती र स्वास्थ्य क्षेत्रमा महिला कर्मचारीको संख्या बढी भइरहेको अवस्थामा उनीहरुका लागि जुनसुकै बेला अफ्टेरोे अवस्था पनि आउनसक्ने भएकोले स्यानिटरी प्याड उपलव्ध गराउने योजना अघि सारेको बताइन ।

‘मन्त्रालयमा महिलाहरुको उपस्थिति बढी नै छ । पिरियड जस्तो कुरा जुनसुकै बेला हुनसक्ने भयो । कहिलेकाँही यसले महिलाहरुका लागि निकै नै समस्या हुन्छ । फेरी स्वास्थ्य मन्त्रालयको वरपर नजिकै पसल पनि छैन् । त्यसैले हामीले उहाँहरुका लागि यो सुविधा उपलव्ध गराउने निर्णय गरेका हौँ,’ उनले भनिन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले हेर्दा सामान्य लागे पनि यो सेवा निकै नै महत्वपूर्ण भएको बताए ।

त्यसो त मन्त्रालयमा अहिले स्तनपान गराउने महिलाहरुका लागि छुट्टै स्तनपान कक्ष समेत सञ्चालनमा ल्याइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *